१४ कार्तिक २०८३, शनिबार

कानुन परिमार्जन गरेर भएपनि निर्माण व्यवसायलाई समृद्ध बनाउन सरकार तयार छः मन्त्री नेम्बाङ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ चैत । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले आवश्यक परेको खण्डमा कानुन परिमार्जन गरेर भएपनि निर्माण व्यवसायलाई समृद्ध बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाली निर्माण व्यवसायी महासंघको २२ औँ साधारण सभालाई आइतबार राजधानीमा सम्बोधन गर्दै मन्त्री नेम्बाङले आपसी छलफलमा व्यवसायीका मागहरू सम्बोधन गर्न सरकार तयार रहेको स्पष्ट पाररे । भौतिक पूर्वाधारको विकास विना सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको अवधारणा पूरा हुनै नसक्ने मन्त्री नेम्बाङले बताए ।

सरकारसँग आफ्नो स्वामित्वमा कुनै निर्माण कम्पनी नरहेको स्पष्ट पार्दै मन्त्री नेम्बाङले देशभरका तमाम निर्माण व्यवसायीहरू नै सरकारको विकास साझेदार रहेको बताए । राज्यले पूर्वाधार क्षेत्रलाई उच्च प्राथमिकता दिएकाले नै पछिल्ला वर्षहरूमा यस क्षेत्रमा ठूलो विकास भइरहेको दाबी मन्त्री नेम्बाङले गरे ।

‘निर्माण क्षेत्रको समृद्धिका लागि व्यवसायीहरू पनि सकारात्मक सोच सहित राष्ट्रप्रतिको आफ्नो दायित्व बोध गरी अघि बढ्नु पर्छ’ मन्त्री नेम्बाङको भनाइ थियो ।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले राजनीतिक स्थिरता विना निर्माण क्षेत्र फस्टाउन नसक्ने बताए । गुनासो मात्रअघि सार्ने परिपाटीले कसैलाई फाइदा नहुने भएकाले सरोकारवाला सबैले आ–आफ्नो जिम्मेवारी सही ढङ्गले निर्वाह गर्नुपर्ने उनले बताए ।

पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले निर्माण व्यवसायी मैत्री ऐन कानुन विना व्यवसायीहरूले काम गर्न नसक्ने भन्दै उनीहरूको भुक्तानी रोक्न नहुने बताए ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले व्यवसायीहरूको सहनशीलतालाई राज्यले कमजोरी ठानेको बताउँदै जायज मागहरू पूरा नभए महासंघ आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए । ‘निर्माण व्यवसायीहरूसँग गरेका सम्झौता पालनामा राज्य इमान्दार भएन’ अध्यक्ष सिंहको भनाइ थियो ।

अव्यवहारिक नीतिनियम, निर्माण सामाग्रीको अभाव, सरकारी निकायबीचको समन्वयमा रहने कमजोरी, महङ्गी, असुरक्षा लगायतका कारणले निर्माण व्यवसायीहरू पेशाबाटै पलायन हुने खतरा बढेको अध्यक्ष सिंहले बताए ।

प्रधानमन्त्रीका भौतिक पूर्वाधार विज्ञ इन्जिनियर गजेन्द्र थपलियाले निर्माण उद्योगको समस्या समाधान गर्न समन्वयकारी भूमिका खेल्न तयार रहेको बताए । प्रधानमन्त्रीका कानुन विज्ञ बाबुराम दहालले निर्माण व्यवसायीहरू व्यवसायीक भएमा धेरै समस्या समाधान हुने बताए ।

नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले कृषिपछि सबैभन्दा बढीलाई रोगजारी दिँदै आएको निर्माण उद्योग रुग्ण अवस्थामा रहेको बताए ।

उद्घाटन सत्रमा महासंघका पूर्व अध्यक्ष यक्षध्वज कार्की, एसोसिएट उपाध्यक्ष आङ दोर्जी लामा शेर्पा (एडी), महासचिव रोशन दाहाल, निर्माण व्यवसायी संघ मोरङका अध्यक्ष सुरेश सुवेदी, महासंघका लुम्बिनी प्रदेशका अध्यक्ष बलिभद्र रानालगायतले निर्माण व्यवसायीक विविध समस्याबारे चर्चा गरका थिए ।

सोही अवसरमा महासंघको मुखपत्र ‘निर्माण विशेषाङ्क’ को विमोचन गरिनुका साथै निर्माण क्षेत्रमा योगदान पुर्याउनेहरूलाई सम्मान गरिएको थियो । काठमाडौँ घोषणा पत्र जारी गर्दै महासंघको २२ औं साधारण सभा भोलि (चैत ३०) गते सम्पन्न हुनेछ ।

साधारण सभामा देशभरका एक हजार भन्दा बढी निर्माण व्यवसायीहरूको सहभागिता रहेको छ । साधारण सभा स्थलमा निर्माण क्षेत्रसँग सम्बन्धित स्टलहरू पनि राखिका छन् ।