१ कार्तिक २०८३, शनिबार

प्रदूषण फेरि विकराल

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । गत साता हल्का वर्षापछि कम भएको वायु प्रदूषण र तुवाँलो राजधानीसहित देशभर फेरि विकराल बन्दै गएको छ । वायु प्रदूषणमा लामो समयदेखि अनुसन्धान गर्दै आएको स्विट्जरल्यान्डको जेनेभास्थित ‘आईक्यू एअर’ ले काठमाडौंलाई सोमबारदेखि नै प्रदूषित ९४ सहरमध्ये पहिलो नम्बरमा राखिरहेको छ ।

काठमाडौंको रत्नपार्कमा मंगलबार साँझ ६ बजेको वायुको गुणस्तर सूचकांक (एक्यूआई) प्रतिघण्टा १९४ छ भने ललितपुरको भैंसेपाटीमा १८९ छ । सबैभन्दा बढी हेटौंडामा एक्यूआई ४४४ छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ३५ सम्म स्वस्थ हुन्छ भने २०१ भन्दा माथिलाई धेरै अस्वस्थकर र ३०१ भन्दा माथिलाई घातक मानिन्छ ।

सरकारी अधिकारीहरूले यसरी प्रदूषण बढ्नुमा वन डढेलोलाई प्रमुख कारण मानिरहेका छन् । विज्ञप्ति निकालेर सचेत गराएबाहेक मुख्य सरोकारवाला निकाय वन तथा वातावरण मन्त्रालयमातहतको वातावरण विभागले प्रदूषण नियन्त्रणमा सिन्को भाँचेको देखिन्न । विभागमार्फत चालु आर्थिक वर्षमा पनि ‘स्वच्छ वातावरण महाअभियान’ चलिरहेको छ ।

विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दुविक्रम जोशीका अनुसार उक्त अभियानअन्तर्गत १० देखि १२ करोड बजेट छ । वायु प्रदूषणको क्षेत्रमा काम गर्न अलग्गै बजेट विनियोजन भएको छ । ‘महाअभियानको बजेटबाट हरियाली प्रवर्द्धनलगायत कार्यक्रम भइरहेका छन्,’ जोशीले कान्तिपुरसित भने, ‘वायु प्रदूषणको बजेटबाट प्रदूषण जाँच गर्ने उपकरण थप गर्ने र जोड्ने तथा जनचेतनामूलक कार्यक्रम भएका छन् ।’

जोशी डढेलोकै कारण यो वर्ष एक्यूआईको मात्रा करिब ५ सय पुगेको ठोकुवा गर्छन् । ‘विगत वर्षहरूमा काठमाडौंसहित देशका सबैजसो भागमा एक्यूआई दुई सयभन्दा तल हुन्थ्यो,’ प्रवक्ता जोशीले थपे, ‘डढेलो बढेको बढ्यै छ । प्रि–मनसुन अवधि पनि विगतका वर्षभन्दा सुक्खा छ । जसले गर्दा प्रदूषण जहाँतहीँ अडिएर बसिरहेको छ ।’

प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या हुनुका साथै आँखा र नाक पोल्ने समस्या बढेकाले सतर्क हुन र जरुरी कामबिना बाहिर ननिस्किन विभागले सर्वसाधारणलाई गत सातादेखि नै सचेत गराइरहेको छ । गत पुस महिनामा पनि काठमाडौंसहित देशका विभिन्न भागमा अत्यधिक प्रदूषण बढेको थियो ।

गत चैत १३ पछि देशका सबैजसो भागमा वन डढेलोको संख्या र फैलावट अत्यधिक बढिरहेको छ । गत साता पश्चिम वायुको प्रभावले हल्का वर्षा हुँदा केही हदसम्म प्रदूषण हटेको थियो । फेरि डढेलोको मात्रा बढेपछि शनिबारपछि प्रदूषण बढिरहेको जोशीको तर्क छ । ‘आईक्यू एअर’ को नक्साले पनि एसियासहित अफ्रिकी मुलुकसम्मै प्रदूषण भरिएको देखाएको छ । ‘आईक्यू एअर’ को तथ्यांकअनुसार करिब दुई सातादेखि एसियाली र अफ्रिकी मुलुकहरूमा बाक्लो तुवाँलोको मात्रा अत्यधिक देखिएको छ । अब्दुल्लाह मियाँले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।