२०७१ जेठ ११ गते । छैटौं दिनको हस्पिटल वसाइपछि म घर फिरेँ । काठमाडौंको धापासी-टोखास्थित ग्रान्डी हस्पिटलमा मैले उपचार गराएँ । समस्याको प्रारम्भमा मैले यहीं जँचाएर औषधी लिएपछि घरमै वसेर ठीक पारौंला भन्ने सोचेको थिएँ। तर, सोचे अनुसार हुनसकेन । विमारीले चाप्दै लगेपछि अस्पताल भर्ना नभै धरै पाईंन । मेरो विमारीसित सम्वन्धित व्याक्टेरियाहरूले डाक्टरले उपचारका लागि प्रस्तावित एन्टिवायोटिक औषधीसित जवर्जस्त प्रतिरोध गरेका कारण त्यो औषधी निस्प्रभावी भएपछि अस्पताल भर्ना हुनैपर्ने स्थिति आयो । prostatitis (prostate मा infection) कारण मलाई समस्या परेको थियो । urinary track मा infection हुँदै गएपछि त्यसले prostate मा समेत infection गराएको थियो । म discharge भएर घर जाँदैगर्दा infection सित सम्वन्धित समस्या हल भएको छ । सजगताका लागि केही समय औषधी खान सल्लाह डाक्टरहरूले दिएका छन् । अब दुई हप्तापछि follow up का लागि जानुपर्नेछ ।
जीवनको यो लामो अवधिमा मैले कहिल्यै हस्पिटल बस्नुपरेन । यसबीचमा स्कूल र कलेजको मेरो अध्ययन अवधि, झण्डै १६ वर्षको कडा भूमिगत राजनीतिक जीवन, त्यसपछि खुला भएर पनि सम्पूर्ण समय पार्टी काममा विताएको अवधि, अनेक ठाउँहरूको भ्रमण, धेरैपटक अत्यन्त प्रतिकूलतामा विताउनुपरेका क्षणहरू आदिका विचमा पनि मैले अस्वस्थ्य भएर अस्पताल बस्नुपरेन । छिटफुट औषधीमूलो र डाक्टरहरूको परीक्षणबाटै म बच्दै आएको थिएँ । यो समयावधिको हिसाव पनि मैले यसैपटक अस्पताल वस्दा सम्झने मौका पाएँ । यस अवधिप्रति मलाई खुशी पनि लागेको छ । यसैअवधिमा आमाले विगतमा पटकपटक मलाई भन्नेगर्नुभएको कुरालाई पनि सम्झें – ‘ हेर बाबू ! तैंले एक वर्षको हुँदा नै डरलाग्दो रोगबाट काल काटिसकेको छस् , अब तँलाई केही हुँदैन, तँलाई केही नहुने, कुनै रोगले पनि नछुने, तँ आफ्नो ठाउँमा वस्दा पनि नवस्ने’ कुरा त्यसवेला तँलाईं ओखती गर्ने लामाले भनेको ‘ कुरा आमाले पटकपटक सुनाउनु हुन्थ्यो ! आमाको यो जानकारी अत्यन्त वलशाली भावका साथ प्रकट हुनेगर्थ्यो । वास्तवमा त्यसपछि म कहिल्यै त्यसरी सारोगरी विमारी परिन र बीचबीचमा आइपर्ने सानातिना अस्वस्थ्यताका समस्यालाई मैले खासै समस्या वुझिन पनि ।
यसपटक कामको व्यस्तता र धपेडीका कारण पनि यस्तो भएको लाग्छ । केही दिनदेखि मलाई पिसाव इन्फेक्सन भइरहेको रहेछ । त्यसखालको लक्षण देखिदै थियो । वास्ता गरिएन, पछि ३० गते वैशाखमा भेरी अन्चल समन्वय कमिटीद्वारा नेपालगन्जमा आयोजना गरिएको अन्चलस्तरीय कार्यकर्ता भेलामा भएको व्यस्ततापूर्ण सहभागिता पछि यो अत्यन्त पिडादायी रूपमा प्रकट भयो । शुरूमा त मैले डाक्टरहरूको सामान्य सल्लाह अनुसार औषधीहरू लिएर ठीक पार्ने योजनामा लागे, घरमै वसेर यो काम गर्ने योजना वनाएँ । मेरो यो प्रयत्न असंभव भयो, समस्या बल्झदै गएपछि हस्पिटल नवसी धरै पाईंन । infected पिसावले प्रोस्टेट infected हुनथाल्यो, क्रिटेनीया वढ्दै जान थाल्यो, infected पिसावले निकालेको toxin का कारण रगत समेत बिसाक्त वन्ने खतरा पैदा हुने स्थितिमा म हस्पिटल भर्ना हुन वाध्य भएँ । यी सबै नकारात्मक प्रकृयालाई सचेनतापूर्वक समयमै नरोकिएको भए, डाक्टरहरूको supervision हुन नसकेको भए मेरो लागि विशेष घातक अवस्था आउनसक्थ्यो । जे होस्, यसपटकको विमारीको यो खड्गोबाट म सुरक्षित हुनसकें । यसमा सहयोग पुर्याउनु हुने डा. प्रेम ज्ञवाली लगायत मेरो उपचारमा संलग्न डाक्टहरू र सम्पूर्ण स्वास्थ्यकर्मी साथीहरूलाई म विशेष धन्यवाद दिन चाहन्छु ।
म अस्वस्थ्य भएर हस्पिटलमा वसेकोवेला मेरो स्वास्थ्यस्थिति वुझ्न तथा स्वास्थ्य लाभको कामना गर्न पार्टीका अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष एवं नेपाल सरकारका उपप्रधानमन्त्री वामदेव गौतम, उपाध्यक्ष विद्यादेवी भण्डारी , सिद्धीलाल सिंह लगायतका नेकपा ( एमाले ) का नेताहरू, मन्त्रीहरू , संविधान सभाका सदस्यहरू, ठूलो संख्यामा पार्टी कार्यकर्ताहरू तथा शुभचिन्तक -समर्थकहरू हस्पिटलमै आउनु भएको थियो । साथै, कुटनीतिक क्षेत्रका प्रतिनिधिहरू समेत पुगेका थिए ।
म हस्पिटलमा बसुन्जेल घर परिवारका सदस्यहरू सहयोग तथा देखरेख मैले पाईंरहें । मिरा आफ्नो अस्वस्थ्यताका बाबजुद चौवीसै घण्टा मेरो हेरविचारमा लागिरहिन् ।छोराहरू सृजन र स्वराज देखरेखमै जुटिरहे, नयाँ वुहारी प्रकृति समेतले विशेष हेरविचार गरिन् । त्यसवेला घरको काममा सघाउने कल्पना र सरस्वतीले समेत सहयोग पुर्याए । पार्टीसित सम्वन्धित साथीहरू – नारायण सिलवाल, हरि अधिकारी, सुरेन्द्र रेग्मी, दीपक पौडेल लगायतका साथीहरूको अत्यन्त आत्मीय सहयोग पाएँ । दिपेन्द्र श्रेष्ठ (जसले लामै समयदेखि मेरो काममा सहयोग पुर्याउँदै आउनु भएको छ) को सहयोग विशेष उल्लेखनीय रह्यो । उहाँले मेरो अनुपस्थितिमा पनि मैले गर्नुपर्ने घरसित र अफिससित सम्वन्धित कामहरूलाई थाती नराखी गरिरहनु भयो, हस्पिटलमा मेरा लागि सेवा पुर्याउने काममा पनि कमि आउन दिनु भएन ।
यस्तै, ग्रान्डी हस्पिटलका अध्यक्ष एवं मेरा अनन्य मित्र दीपक कुँवरबाट सद्भाव र सहयोग मैले पाएँ । भगवान केसीले मलाई डिस्चार्ज नहुन्जेलसम्म नै आत्मीय सहयोग पुर्याइरहनु भयो । डाक्टरहरू – प्रेम ज्ञवाली लगायत स्वास्थ्यकर्मीहरूको टोलीबाट मेरो जाँच तथा औषधी प्रयोगमा विशेष रेखदेख रहेको थियो । उहाँहरूको यस किसिमको सहयोग नपाएको भए मलाई समयमै ठीक हुन कठिन थियो ।
अहिले म हस्पिटलबाट डिस्चार्ज भए पनि विभिन्न सात किसिमका औषधीहरू सेवन गर्दैछु । एक हप्तादेखि एक महिनासम्म पनि सेवन गर्नुपर्ने एण्टिवायोटिक लगायतका औषधीहरू छन्, यसबीच म शारिरीक रूपले कमजोर पनि वनेको छु । स्वास्थ्य लाभ गर्नुपर्ने आवश्यकता छ, घरको वातावरण यसका लागि उपयुक्त छैन । बाहिर कतै गएर दुई चार दिन शान्त वातावरणमा विताउन पाए हुनेथियो !
मलाई दु:ख पनि लागेको छ – मेरो ग्रान्डी हस्पिटलको बसाइलाई लिएर केही सार्वजनिक टिका-टिप्पणीहरू पनि भएछन् ! म भन्दा दुई तीन दिन अगाडि माधव नेपाल वीर हस्पिटलमा भर्ना हुनुभएछ, उहाँको त्यहीं उपचार भएछ, उहाँ निको भएर आउनुभयो, राम्रो भयो । पछि मलाई ग्रान्डीमै पनि भेट्न आउनु भएको थियो, मलाई उहाँले स्वास्थ्य लाभ गर्न, निराश नहुन हौसला पनि दिनुभएको थियो । तर, उहाँले वीर हस्पिटलमा उपचार गराएका कारण त्यसलाई ‘महान र जनपक्षीय काम ‘ तर मैले ग्रान्डी र केपी ओलीले दिल्ली र बैंकक गएर उपचार गराएको विषयलाई गैरजनपक्षीय – गैरप्रगतिशील भन्दै सार्वजनिक संचारमाध्यमहरू र सामाजिक सन्जालहरूमा समेत सम्प्रेषित गर्ने काम केही मानिसहरूले गरेछन् ! आसन्न नवौं राष्ट्रिय महाधिवेशनलाई हेक्का राखेर स्वास्थ्य उपचारमा केन्द्रीत रही शुरू गरिएको सस्तो लोकप्रियतामा आधारित अमानवीय र अविवेकी प्रचारवाजीलाई ख्यै के भन्ने …? दु:ख मात्र व्यक्त गर्न सकिन्छ । हामीभित्रको दरिद्रताको प्रदर्शन जस्तो लाग्छ, मलाई ! मलाई मेरो पार्टीका मात्र होइन, कोही पनि अस्वस्थ्य भएको, उपचार नपाएकोमा दु:ख लाग्छ, स्वास्थ्य वनेर हस्पिटलबाट फिरेको कुरा सुन्दा अत्यन्त खुशी लाग्छ ! म वाँचुन्जेल , ममा चेतना रहुन्जेल यही मान्यतामा टिकिरहन चाहन्छु !












प्रतिक्रिया