– बीरबहादुर गिरी
जाजरकोट १८ चैत । एक आर्थिक बर्ष नसकिदै जाजरकोटमा तीन जना स्थानीय विकास अधिकारी फेरिएका छन् । पार्टीको निर्देशनमा काम नगरेका भन्दै स्थानीय विकास अधिकारीको सरुवा गर्ने गरिएको छ ।
आर्थिक बर्षको शुरुमा गत साउन ४ गते कृष्ण पाण्डे सरुवा भएर आएका थिए । तीन महिना नपुग्दै उनको असोजमा सरुवा गरिएको थियो । पाण्डेको काँग्रेसको केन्द्रिय नेतृत्वसंग सम्बन्ध राम्रो भएकोले सुगम ठाउँ पाल्पामा सरुवा गरिएको बताइएको छ । उनीपछि असोज २७ गते सरुवा भएर ज्ञानराज पाण्डे जाजरकोट पुगेका हुन ।
स्थानीय विकास अधिकारी पाण्डेको आर्थिक बर्ष सकिना लाग्दा अचानक सरुवा गरिएको छ । काँग्रेसले भने अनुसारको काम नगर्दा पाण्डेको अचानक सरुवा भएको जिविसका एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा बताए ।
काँग्रेसका जिल्ला स्तरिय नेताले कार्यकर्ता जस्तो प्रयोग गर्न खोजेको तर पाण्डेले त्यसो नगर्दा सरुवा भएको उनको भनाई छ । जिविस अन्तर्गतका बिभिन्न परियोजनामा कर्मचारी भर्ना गर्दा काँग्रेस कार्यकर्ता भर्ना नगरेको र दुर्गम क्षेत्र विकास समितिका उपाध्यक्ष एबं जाजरकोट काँग्रेस सभापति दिपक जंग शाह चढेको गाडी भाडा दिन नमानेको जस्ता आरोपमा पाण्डेको सरुवा भएको उनले बताए ।
अहिले दीर्घबहादुर पोखरेले रोल्पाबाट सरुवा भएर जाजरकोट आएका छन । यसरी अबधि नपुगी छिटो छिटो स्थानीय विकास अधिकारी सरुवा गर्दा योजना कार्यान्वयन, जिविसको प्रशासनिक काम र राजनीतिक समुन्वयमा समस्या हुने गरेको छ ।
जिल्लामा स्थानीय विकास अधिकारीको सरुवा बिभागिय मन्त्रालय भएको नेपाली काँग्रेसले गर्ने गरेका अन्य दलका नेताको भनाई छ । राजनीति स्वार्थपुर्तिमा स्थानीय विकास अधिकारी सरुवा गर्ने खेलले जिल्लाको विकास निर्माण प्रक्रिया प्रभाबित हुने गरेको छ ।















प्रतिक्रिया