काठमाडौँ, १८ चैत । अहिलेको भन्दा फराकिलो र सुविधा सम्पन्न केन्द्रीय कार्यालय खोज्न नेकपा एमालेले गत वर्षदेखि प्रयास गरेपनि हालसम्म उपयुक्त ठाउँ र कार्यालय भेट्न सकेको छैन ।
बल्खुस्थितको केन्द्रीय कार्यालय साँघुरो भएकाले अर्को उपयुक्त स्थानमा कार्यालय स्थानान्तरण गर्न एमालेको अघिल्लो नेतृत्वले पोलिटब्युरो सदस्य विष्णु रिमालको संयोजकत्वमा समिति बनाएर काम थालेको थियो ।
नयाँ कार्यालय खोज्ने क्रमसँगै बल्खुमा बनाउन लागिएको थप नयाँ भवन निर्माण कार्य पनि रोकिएको थियो । एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार हालसम्म काठमाडौँ उपत्यकाको चक्रपथभित्र उपयुक्त नयाँ स्थान र भवन फेला नपरेको तर खोजी कार्य जारी रहेको बताउनुभयो ।
पार्टीको सदस्यता वृद्धि र राजनीतिमा भूमिका बढेपछि बल्खुको कार्यालयमा चियापान, भेटघाट र आन्तरिक भेला तथा पार्किङका लागि साँघुरो हुने गरेको नेताहरूले बताएका छन् । यसअघिको निर्णयअनुसार बल्खुमा रहेको पार्टी कार्यालय १५ करोडमा बेच्ने मुल्य तोकिएको थियो ।















प्रतिक्रिया