३ कार्तिक २०८३, मंगलबार

एमाले प्रचार विभागले घोषणा गर्‍यो ५० हजार राशिको मदन भण्डारी पत्रकारिता पुरस्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yogesh_Bhattarai

काठमाडौँ, १७ चैत । नेकपा एमालेको केन्द्रीय प्रचार विभागले ‘मदन भण्डारी पत्रकारिता पुरस्कार’ घोषणा गरेको छ ।

पार्टी केन्द्रीय प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हालेकै दिन मंगलबार नेकपा एमालेका सचिव योगेश भट्टराईले ५० हजार राशीको मदन भण्डारी पत्रकारिता पुरस्कार घोषणा गर्नुभएको हो ।

हरेक बर्ष एकजना पत्रकारलाई प्रचार विभागका तर्फबाट यो पुरस्कार प्रदान गरिने भट्टराईले जानकारी दिनुभयो । मदन भण्डारीको स्मृति दिवसका अवसर पारेर आगामी बर्षबाट जेठ ३ गते यो पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो ।

सचिव भट्टराईले पार्टीको मुखपत्र नवयुगको ग्राहक संख्या आगामी पाँच बर्षभित्र एक लाख पुर्याउने घोषणा पनि गर्नुभयो । अहिले नवयुगको ग्राहक संख्या १४ हजार छ ।

यसका साथै नवयुगलाई भाषिक रुपमा समावेशी समेत बनाइने भएको छ । हरेक अंक एउटा मातृ भाषाको सामाग्री समेटिने उहाँले जानकारी दिनुभयो । नवयुगको ग्राहक नहुनेलाई पार्टीका अधिवेशनहरुमा उम्मेदवार हुन नदिने उहाँले बताउनुभयो ।

यसैगरी, पार्टी मुख्यालय बल्खुमा संचारकर्मीका लागि आधुनिक मिडिया सेन्टरको स्थापना गर्ने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा एमालेका सचिव एवं प्रचार विभागका निवर्तमान प्रमुख प्रदीप ज्ञवालीले आफ्नो पाँच बर्षे कार्यकालमा मिडियाबाट राम्रो सहयोग पाएको सुनाउनुभयो । उहाँले नवनियुक्त प्रचार विभाग प्रमुख भट्टराईलाई कार्यभार, माइन्युट र ल्यापटप हस्तान्तरण गर्नुभएको थियो ।

नेकपा एमालेका सचिव एवं संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बिचार तथा संगठनमा एमाले पहिलो भएपनि व्यवस्थित प्रचार गर्न नसक्दा चुनावमा दोस्रो र तेस्रो हुनुपरेको सुनाउनुभयो । पार्टीको व्यवस्थित प्रचार कार्यमा लाग्न उहाँले आग्रह गर्नुभयो ।

एमाले केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापाले पार्टीको प्रचारलाई व्यवस्थित गर्न अबको पाँच बर्षे कार्यकालमा नयाँ कार्यक्रमहरु ल्याउने बताउनुभयो ।