– शिबलाल सुबेदी
गुल्मी १७ चैत । जिल्लाका गाउँ गाउँमा रहेका स्वास्थ्य चौकीमा राम्रो सेवा सुबिधा नहुने र स्वास्थ्य चौकीहरूको काम कारबाही प्रभावकारी नभएको गुनासो आईरहेकै हुन्छ ।
तर जिल्लाको बाँझकटेरी गाविस–२ मा २०६८ साल देखि संचालन भईरहेको मदाने सामुदायिक स्वास्थ्य केन्द्रले गाउँका सर्बसाधारणहरूलाई राम्रो स्वाथ्य सेवा प्रदान गरिरहेको छ । जर्मन नागरिकहरूको सहयोगमा सञ्चालन भईरहेको उक्त स्वास्थ्य केन्द्र स्थापना भएसँगै बाँझकटेरी आसपासका गाविसका स्थानीयहरूले राम्रो स्वास्थ्य सेवा पाईरहेका छन् ।
स्वास्थ्य केन्द्रमा रहेका एक हेल्थ असिस्टेन्ट, एक जना सिएमए र एक जना अनमीले हरेक दिन १५ देखि २० जना बिरामीहरूलाई स्वाथ्य सेवा प्रदान गरिरहेका छन् । उक्त स्वास्थ्य केन्द्रमा समय समयमा बिशेषज्ञ सहितको स्वास्थ्य शिविर पनि सञ्चालन हुने गरेको छ ।
गाउँमा प्रदान गरिएको स्वास्थ्य सेवाले सरकारी स्वास्थ्य सेवालाई चुनौती दिईरहेको छ । ‘जर्मन नागरिकहरूले हाम्रो विकट गाउँमा स्वास्थ्य केन्द्र स्थापना गर्ने सोँच राख्नाले गाउँमा ठूलो राहत भएको छ,’ स्थानीय समेत रहेका मदाने सामुदायिक स्वास्थ्य केन्द्रका प्रमुख बिष्णु भुसालले भन्नुभयो ‘धेरै जसोलाई बाहिर जानुपर्दैन, बाहिर जानै परे हामीले गतिलो स्वास्थ्य परामर्श दिईरहेका हुन्छौँ ।’
जर्मनका डाक्टर क्लाउज र भुसालको २०६८ सालमा रामेछापमा भएको भेटघाटले बाँझकटेरीमा यस्तो स्वास्थ्य केन्द्र स्थापना भएको हो । क्लाउजले आफू सहित आफ्ना साथीहरू मार्फत उक्त स्वास्थ्य केन्द्रलाई सहयोग गर्छन् । अहिले केन्द्रको आफ्नै भवन पनि स्थापना भएको छ ।
२०६८ सालमा स्थानीय मोतिबहादुर केसीले उपलब्ध गराएको कच्ची घरबाट सुरू भएको उक्त स्वास्थ्य केन्द्रको अहिले आफ्नै राम्रो र सुबिधा सम्पन्न भवन समेत बनेको छ । उक्त स्वास्थ्य केन्द्र त्यस क्षेत्रमा रहेका गाविसवासीहरुको आशाको केन्द्र पनि बनेको छ ।
‘हामीलाई काठमाडौंबाट नेपाल हेल्पले सहयोग गरेको छ, त्यसमा पनि त्यहाँका अधिकृत कृष्ण ढकालले गरेको सहयोग अतुलनीय रहेको छ,’ भुसालले भन्नुभयो ‘करिब एक बर्ष भरिमा खर्च हुने ३५ लाख रकम जर्मनबाट क्लाउज र काठमाडौंबाट नेपाल हेल्पले जुटाईदिने गरेको छ ।’
भुसालले अहिले १ करोड १० लाखको लागतमा केन्द्रको आफ्नै भवन स्थापना भएको र त्यसको केही दिन अगाडि मात्र उद्घाटन भएको बताउनुभयो । उक्त भवन जर्मन नागरिकहरूलेनै बनाईदिएका हुन् । केन्द्रमा १३ बर्ष भन्दा तलका बालबालिकाहरूलाई ओपीडि चार्ज लाग्दैन । स्वास्थ्य केन्द्रले १३ बर्ष भन्दा माथीका बिरामीहरुलाई १० रूपैँया शुल्क लिने गरेको छ ।
१३ बर्ष भन्दा तलको बिरामीलाई ५० प्रतिशत छुटमा औषधी उपलब्ध हुन्छ । १३ बर्ष देखि ७५ बर्ष सम्मका बिरामीलाई ६ प्रतिशत छुटमा औषधी उपलब्ध हुन्छ । ७५ बर्ष भन्दा माथीका बिरामीलाई पनि ५० प्रतिशत छुटमै औषधी उपलब्ध हुन्छ भने अति बिपन्न गरिबलाई स्वास्थ्य जाचँ तथा औषधीको कुनै पनि मुल्य लाग्दैन । ‘यसका अलबा बिशेषज्ञहरू सहितको क्याम्प भईरहेको हुन्छ,’ भुसालले अगाडि थप्नुभयो ‘गाउँलेहरू पनि अति नै खुसी भएका छन्, म पनि खुसीनै छु ।’
विकटमा स्थापना भएको उक्त केन्द्रमा भीडियो एक्सरे, ईसिजि, पिशाव परिक्षण लगायतका सेवाहरू पनि दिईन्छ । केन्द्रमा प्रसुती हुने महिलाहरूको लागि अल्ट्रा साउण्डको समेत ब्यवस्था गरिएको छ ।
यता जिल्लाकै एक मात्र सरकारी अस्पताल तम्घास अस्पताल विकास समितिका अध्यक्ष दानबहादुर केसीले गाउँमा सञ्चालन भईरहेको उक्त स्वास्थ्य केन्द्र जिल्लाकै नमुना भएको बताउनुभयो ।
उहाँले सरकारी तहबाट गाउँमा प्रदान गरिने स्वास्थ्य सेवालाई उक्त केन्द्रले प्रदान गर्ने सेवा संग तुलना गर्न नसकिने समेत बताउनुभयो । उक्त केन्द्रमा बाँझकटेरी, अग्लुङ र सिर्सेनी, मलायगिरी, म्यालपोखरी गाविसका सेवाग्राहीहरुले हरेक दिन सेवा लिईरहेको मदाने सामुदायिक स्वास्थ्य केन्द्रले जानकारी दिएको छ ।













प्रतिक्रिया