मेलम्ची, १७ चैत । सिन्धुपाल्चोक जिल्ला विकास समितिले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन गाउँ-गाउँमा ‘रिटर्नी’ स्वयम्सेवक विस्तार गर्ने भएको छ ।
जिविसले वैदेशिक रोजगारबाट फर्केकामध्येबाट १० गाविसमा ‘रिटर्नी’ स्वयम्सेवक परिचालन गर्न लागेको हो । त्यस्ता स्वयम्सेवकका लागि गाउँमा परिचालन गर्न तालिमसमेत सञ्चालन गरिएको छ ।
वैदेशिक रोजगारमा जानेमध्ये जिल्लाबाट ८ दशमलव ८६ प्रतिशत महिला रहेका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार यो जिल्लाबाट बर्सेनि सबैभन्दा बढी महिला वैदेशिक रोजगारीका लागि बिदेसिने गरेका छन् ।
बिदेशिने क्रम बढ्दै गएपछि स्विस विकास सहयोग (एसडिसी) को सहयोगमा उक्त कार्यक्रम लागू गरिएको हो । जिविसका कार्यक्रम अधिकृत राजुभाइ श्रेष्ठका अनुसार दोस्रो चरणमा १० गाविस थप गरिने छ ।
वैदेशिक रोजगारबाट फर्केकाहरुबाट मात्र स्वयम्सेवक छनोट गरिएको छ । उनीहरुले रोजगारीमा जानेलाई परामर्श दिने र गएकाको अवस्थाको जानकारी सङ्कलन गर्नेछन् । जिल्लामा दिनैपिच्छे राहदानी बनाउनेको भीड लागेपछि वैदेशिक रोजगारमा जाने क्रम झन् बढेको सहायक प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद उपाध्याय बताउनुभयो ।
राहदानीका लागि दैनिक ८० देखि १०० वटा सिफारिस हुने गरेको छ । सिफारिस भएकामध्ये ४० देखि ४२ प्रतिशत महिला रहेका प्रजिअ उपाध्यायले जानकारी दिनुभयो ।
जिविसले जिल्लामा पनि दुईजना कर्मचारीमार्फत जिल्ला प्रशासन कार्यालयमा परामर्श केन्द्र सञ्चालन गरेको छ । श्रम तथा रोजगार मन्त्रालयले सुरक्षित आप्रवासन परियोजना (सामी) मार्फत नौवटामा जिविस र १० वटा जिल्लामा गैरसरकारी संस्थाबाट कार्यक्रम सञ्चालन गरिरहेको छ । रासस















प्रतिक्रिया