३ कार्तिक २०८३, मंगलबार

जोखिमयुक्त स्थानमा सरकारी संरचना बन्दा सेवाग्राही सास्तीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला, १७ चैत । जुम्ला जिल्लाको माथिल्लो सिंजा भेकमा अवस्थित कनकासुन्दरी गाविसको हाडसिंजामा निर्माण गरिएका सरकारी संरचना नै जोखिमपूर्ण स्थानमा रहेको पाइएको छ ।

हाडसिंजाको उत्तरपूर्वबाट बगिरहेको हिमानदी छुट्टिएर दुईतिर बग्दा बीचमा टापु परेकै ठाउँमा विद्यालय, पशुसेवा, स्वास्थ्य चौकी र गाउँ विकास समितिको कार्यालय रहेको र सो स्थानमा सेवा लिन जान जीर्ण काठेपुल तर्नुपर्ने बाध्यता रहेको कालिका निम्नमाध्यमिक विद्यालय हाडसिंजा जुम्लाका शिक्षक बिजलीप्रसाद शाहले बताउनुभयो ।

उहाँले भन्नुभयो–“वरिपरि नदी छ बीचमा विद्यालयलगायत कार्यालय भएकाले दैनिक विद्यार्थीसहित सरकारी सेवा लिन सेवाग्राही आउँछन्, पुल निकै जीर्ण छ, हिउँदमा पानी कम हुने भएकाले केही नभए पनि बर्खायाममा निकै डरलाग्दो अवस्था छ ।”

जसको कारण सेवा लिनुभन्दा पनि मरिने हो कि भन्ने चिन्ताले स्थानीयलाई सताउँछ । यसभन्दा अगाडि त्यही काठको पुलबाट खसेर एक बालिकाको ज्यान गएको र दुईलाई बचाएको तीतो घटनाका विषयमा पनि शिक्षक शाहले अवगत गराउनुभयो ।

हाडसिंजाको स्वास्थ्य चौकीका इन्चार्ज कृष्णप्रसाद आचार्यले पनि काठको जीर्ण पुलका कारण सेवाग्राहीलाई सेवा लिन आउँदा त्राहीत्राही भएको बताउनुभयो ।

विशेषगरी स्वास्थ्य क्षेत्रमा पनि सेवा लिन बढी बालबालिका र महिला आउनुपर्ने बाध्यता तर पुल जीर्ण हुँदा बडो सन्त्रासका साथ स्वास्थ्य चौकी पुग्नुपर्दा सेवाग्राहीलाई चिन्ता खेप्नु परेको पीडा इन्चार्ज आचार्यले व्यक्त गर्नुभयो ।

त्यसैगरी अनमी निरमाया बुढाले सेवा लिन जाँदा ज्यान नै जोखिममा पर्ने भएपछि त्यस्तो सेवा लिन धेरैले नमानेको बताउँदै यस विषयमा धेरै पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएको तर कहीँ कतैबाट सुनुवाइ नभएको दुःखेसो गर्नुभयो ।

धेरै वर्ष पुरानो उक्त काठको पुल देख्दा र दुर्घटना भएको थाहा पाउँदा पनि नयाँ पुल बनाउनुपर्छ भन्नेमा स्थानीय निकायदेखि जिल्ला तथा केन्द्रसम्मका सरोकारवालाको ध्यान नगएको भन्दै स्थानीय जनताले आक्रोश व्यक्त गरेका छन् ।

११ वटा गाविस रहेको सिंजा भेकको कनकासुन्दरी गाविस धार्मिक, पुरातात्विक र साँस्कृतिक रुपमा चिनिँदै आएको छ ।