३ कार्तिक २०८३, मंगलबार

शव फेला पार्दा एक लाख पुरस्कार !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– रबिना बोहरा
बागलुङ, १६ चैत । पौडी खेल्ने क्रममा कालीगण्डकी नदिबाट बेपत्ता भएका चिनियाँ नागरिकको शव फेला पारेबापत बागलुङका एक माझीले एक लाख रुपैया पुरस्कार पाउनुभएको छ ।

अमलाचौर–९ का हरिबहादुर माझीले माछा मार्ने क्रममा शव फेला पारेपछि प्रहरीलाई खबर गरेको बताउनुभयो । गत फागुन १० गते बेपत्ता हुनुभएका बेइजिङका २७ वर्षीय क्यू याङको शव नारायणस्थान–९ नाँउबगरका माझीले फागुन २७ गते माछा मार्न जाँदा नदीमा फेला पार्नुभएको थियो ।

प्रहरीले मृतकका आफन्त तथा बेजिङ समाजलाई खबर गरेपछि समाजले शव फेला पार्ने माझीलाई पुरस्कार स्वरुप एक लाख प्रदान गरेका हुन् । कालीगण्डकी नदीको सहस्रधारा क्षेत्रमा र्‍याफ्टिङ सकेपछि पौडी खेल्ने क्रममा याङलाई नदीले बगाएको थियो ।

उहाँसँगै पौडी खेल्ने क्रममा अर्का पर्यटक याङ जो यूलाई बगीरहेको अवस्थामा तत्काल उद्दार गरिएको थियो । याङसहित पाँच जना चिनियाँ पर्यटक पोखरामा रहेको प्याडल नेपाल नामक र्‍याफ्टिङ कम्पनीमार्फत् जलयात्राका लागि आएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर बस्नेतले जानकारी दिनुभयो ।

बेपत्ता याङको खोजी गर्न सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गर्दा पनि नभेटिएपछि माझीले माछा मार्ने क्रममा डुबीरहेको अवस्थामा शव फेला परेको माझीले बताउनुभयो ।

यसअघिनै शव फेला पार्ने व्यक्तिलाई एक लाख पुरस्कार दिने घोषणा गरिएकाले चिनिया समुदायले माझीलाई पुरस्कृत गरेको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङमा पत्रकार सम्मेलनका आयोजना गरि पुरस्कार प्रदान गर्दै याङका आफन्त हउले नेपाली नागरिक साहसी भएको र चिन र नेपालको सम्बन्ध सधै सुमधुर रहेको धारणा व्यक्त गर्नुभयो ।

पुरस्कार ग्रहण गर्दै माझीले पुरस्कारको रकम बालबच्चाको भविष्यको लागि खर्च गर्ने बताउनुभयो । ‘सँधै माछा मार्ने, दाउरा खोज्ने कामको लागि नदीमा जाने गर्छु, आज यस्तो नसोचेंको पुरस्कार पाएको छु’ माझीले भन्नुभयो ‘एउटा मानिसको शव भेटाएर धर्म गरेको छु जस्तो लागेको छ, मलाई राम्रो लागेको छ ।’

माझीले शव भटिँदासाथ प्रहरीलाई खबर गर्नुभएको थियो । माझीको काम सह्रानिय भएको अञ्चल प्रहरी कार्यालय धवलागिरीका वरिष्ठ प्रहरी उपरीक्षक सुभाषचन्द्र चौधरीले बताउनुभयो ।

शव फेला पार्ने व्यक्तिलाई चिनियाँ नागरिकले देखाएको सद्भाव र सम्मान प्रंशासायोग्य भएको उहाँको भनाई थियो । पर्यटकहरु बागलुङ र पर्वतको बीच सहस्रधारा हुँदै स्याङ्जाको मिर्मीसम्म जलयात्राको लागि आउने गर्छन् ।