७ मंसिर २०८३, सोमबार

मेलम्ची खानेपानीको सुरुङ आज पुनः परीक्षण गरिँदै, हेलिकोप्टर र अस्पताल तयारी अवस्थामा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, १० फागुन । मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा सोमबारदेखि पानी भर्न थालेर पुनः परीक्षण गरिने भएको छ ।

खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिन लागिएको हो ।

आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न शुरु गरिने छ । खानेपानीमन्त्री मणि थापाको उपस्थितिमा सुरूङमा पानी हालेर परीक्षण गरिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।

गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो । हेलुम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट नं. १७ फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो ।

त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एशियाली विकास बैंकको अनुदान सहयोगअन्तर्गत चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरेको थियो ।

विगतको जस्तो दुर्घटना नहोस् भन्नका लागि आयोजनाले यसपटक विशेष सतर्कता अपनाएको छ । परीक्षणका क्रममा हेलिकोप्टर र अस्पताललाई तयारी अवस्थामा राखिएको बताइएको छ ।

उद्धार योजना बनाएर धुलिखेलदेखि काठमाडौँस्थित विभिन्न अस्पतालहरुसँग समन्वय गरिएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्ने बताइएको छ ।