काठमाडौं, ९ फागुन । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई आइतबार भारत जाने भएका छन् ।
भट्टराई स्वास्थ्योपचारका लागि भारतको राजधानी नयाँ दिल्ली जान लागेका हुन् । उनी नेपाल वायुसेवाको जहाजबाट दिल्ली जानेछन्।
उनको पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए ।
चिकित्सकहरूले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उनी दिल्लीमा त्यसको उपचारका लागि जान लागेका हुन् ।
दिल्लीमा उनको उपचार इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा हुनेछ ।
उपचारका लागि दिल्लीमा रहँदा उनको बसाइ त्यहाँस्थित नेपालको दूतावासमा हुनेछ । उपचारका क्रममा उनीसँग पूर्वमन्त्री तथा नेतृ हिसिला यमी र जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डे रहनेछन् ।











प्रतिक्रिया