हामी सामान्यतया: कर्मको प्रतिफल प्राप्त भइसकेपछि फल अनुरूप बधाइ दिने गर्दछौं । जसले गर्दा कर्मको अत्यन्तै राम्रो फल प्राप्त गर्नेहरुतर्फ बधाइको प्राय: सबै हिस्सा सोझिन पुग्दछ भने धेरै मेहनत गर्दागर्दै पनि बिबिध कारणले अपेक्षित प्रतिफल प्राप्त असमर्थ हुनेहरू अथवा फरक किसिमको प्रतिफल पाउनेहरू बधाईको कम हकदार भएजस्तो देखिन जान्छ । यसले उनीहरूमा निरासा पैदा हुन्छ र त्यो निरासा नसोचेको स्तरसम्म पनि पुगिदिन सक्दछ ।
प्रतिफल प्राप्त भइसकेपछि बधाई दिने यो प्रकारको परिपाटी अलि दोषपूर्ण छ । खासमा मानिस आफ्नो गच्छे अनुसार कुनै पनि काम सम्पन्न गरिसक्ने बितिकै बधाइको हकदार भइसकेको हुन्छ । राजनैतिक ब्यबस्थामा मतदान सकिने बितिकै सबै उमेद्वारहरू बधाइका उतिकै हकदार हुन्छन्, किनकि उनीहरूले चूनाबी मैदानमा आफ्नो क्षमताले भ्याएसम्म प्रतिस्पर्धा गरि मतदातालाई आफूतिर आकर्षित गर्न भरमग्दुर प्रयास गरेका हुन्छन् । मतदाताले उनीहरूलाई रोज्ने या नरोज्ने उमेद्वारको नियन्त्रणको कुरा होइन । उनीहरूलाई बधाइ दिन मत गणनाको नतिजा कुरिराख्नु पर्दैन । सन्तान जन्माउन चाहाने एउटी महिला गर्भवती हुंदा नै बधाईकी हकदार भइसक्छिन् । उनले जन्माउने शिशु छोरा हुन्छ या छोरी अथवा के कस्तो अवस्थाको जन्मिन्छ भन्ने कुरामा उनको कुनै खास भूमिका नहुने हुनाले उनलाई बधाइ दिन उनी सुत्केरी हुन्जेल पर्खिराख्नु पर्दैन । तर हामीकहां गलत किसिमको परिपाटी छ । हामी मत गणनाको नतिजा पश्चात बिजयी उमेद्वारलाई बधाईले पुरिदिन्छौं भने पराजितहरू उपेक्षित हुन पुग्दछन । हामी सुत्केरी भएपश्चात भकुल्ले छोरो जन्माउने आमालाई बधाइले ओतप्रोत गरिदिन्छौ भने छोरी पाउने वा अस्वाभाबिक अवस्थाका शीशुलाई जन्म दिने महिलालाई वेवास्ता गर्छौ, कहिलेकाही त दोष पनि दिन्छौं । यस्तै कारणले उमेद्वारहरूलाई उठेपछि चूनाब जित्नै पर्ने मनोबैज्ञानिक दबाव पर्छ र नै उनीहरू चूनाबलाई जिबनमरणको सबाल बनाईदिन्छन् । यस्तै कारणले गर्भवती महिलाले छोरो नपाउना साथ आफ्नो भबिष्य अन्धकार देख्छिन् । भ्रुण परिक्षण र कन्या भ्रुण हत्यामा बृद्दी हुनुमा यस्तै कारण जिम्मेवार छन् ।
एकजना ब्यक्तिले पांचौपल्टको प्रयासमा तेश्रो श्रेणीमा एसएलसी उतिर्ण गरे । चार पल्ट अनुतिर्ण हुंदा पनि उनी निराश भएनन् र प्रयास छाडेनन् । आफ्ना साथीहरू बिए पास गरिसक्दा उनले आइए पढ्न थाले । पहिलो पटकमै राम्रो नंबरका साथ एसएलसी उतिर्ण गर्नेहरूले ‘ब्याक लगाए’ तर उनले सरासर आइए, बिए र उत्कृष्ट श्रेणीमा एमए समेत उतीर्ण गरे । पछि उनलाई शिक्षक नियुक्त गर्न जिल्लाका एक से एक उच्चमाबिले तानातान नै गरे । अहिले उनी आफूले रोजेको स्कूलमा एक कुशल शिक्षकको रुपमा कार्यरत छन्, र प्रतिष्ठित जीबन बिताइरहेका छन् ।
नेपालका करिब ५ लाख ७५ हजार किशोर किशोरीहरूले भरखरै एसएलसी सम्पन्न गरेका छन् । ती मध्ये धेरेजसोको मनमा आफूले सोचे जस्तो नतिजा नआउला र निराश हुनु पर्ला भन्ने चिन्ताले सताउन थालिसकेको हुनु पर्छ । कतिका बाबुआमा छोराछोरीले उत्कृष्ट नतिजा ल्याइदेलान् र फूलमालाकासाथ बधाइ दिउला अनि समाजमा नाक ठड्याउला भन्ने सोचेर बसेका होलान् । कतिपय बिद्यालयहरू बिद्यार्थीले उत्कृष्ट नतिजा ल्याइदेलान् र बिद्यालयको प्रतिस्पर्घात्मक गरिमा बढ्ला भन्दै कुरेर बसेका छन् । यस्तै कारणले गर्दा परिक्षाको नतिजा नआउन्जेल तमाम परिक्षार्थीहरू एक किसिमको दवावमै रहने गर्छन् । बास्तवमा ति किशोर किशोरीहरू परिक्षा सम्पन्न गरेकोमा अहिले नै बधाइका पात्र भइसकेका छन्, त्यसैले आफ्नू कर्म सम्पन्न गरिसकेका उनीहरूलाई दवाव मुक्त राख्न हामीले मद्दत गर्नुपर्छ । आफ्नू कर्तब्य पूरा गरेकोमा अहिलै बधाइ दिइ नतिजाको बारेमा निश्चिन्त राख्न सक्यौं भने मात्र उनीहरूको परिश्रम प्रति न्याय हुन्छ । जे जस्तो नतिजा आए पनि त्यो उनीहरूको परिश्रमको प्रतिफल भएको हुनाले त्यसलाई स्वीकार गरि अगाडि बढ्न अझ हौसला दिनु हाम्रो कर्तब्य हुन्छ । कल्पना गरेभन्दा भिन्न प्रतिफल आउदा अगाडिको बाटो सोचे भन्दा अलग र अलि चूनौतीपूर्ण हुन सक्दछ, तर चूनौतीपूर्ण बाटोमा यात्रा गरेर गन्तब्यमा पुग्नेहरूले नै सफलताको अझ मीठो स्वाद चाख्न पाउंछन् । त्यसैले अपेक्षित भन्दा फरक परिणाम प्राप्त गर्ने बित्तिकै असफल भइयो भन्ने मान्नु जरुरी छैन, परन्तु बरू यसबाट अझ बढी सिक्ने र परिश्रम गर्ने मौका पाइएको ठान्नु पर्ने हुन्छ ।
एसएलसी परिक्षा मेहनतका साथ सम्पन्न गर्ने सम्पूर्ण परिक्षार्थीहरूमा हार्दिक बधाई ! तपाईहरूले आफूले गर्ने कर्म गरिसक्नु भएको छ, त्यसैले अब परिक्षाको नतिजा के कस्तो आउला भन्ने चिन्ताबाट मुक्त हुनुहोस् । कुनै पनि नतिजा आफैमा केही होईन, त्यो त अर्को किसिमको कर्मको बाटो खोलिदिने सूचना मात्र हो । त्यसैले आफ्नो कर्म अनुसारको नतिजा आउनेछ र त्यसलाई स्वीकार गर्दे भबिष्यको उपयुक्त बाटोमा अगि बढ्नेछु भन्ने मानसिकता अहिलै देखि बनाउनु होस् । अभिभावक र आफू स्वयं पनि अति आसावादी या अति निराश नहुनुहोस् । आसावादी हुनु नराम्रो होइन तर अति आसावादी भइयो भने थोरैमात्र तलमाथि हुदा पनि त्यसले ठूलो निरासा पैदा गर्छ । पूर्णांक भन्दा केवल ४ नंबर कम आउने चिन्ताले बुटवलमा एकजना बिद्यार्थीले परिक्षानै त्यागिदिएको घटना अति आसाबादी हुदा उत्पन्न हुने दुष्परिणामको ताजा उदाहरण हो ।
एसएलसी बिध्यार्थी जीबनको एक महत्वपुर्ण परिक्षा हो । तर यसमा एकाध पल्ट असफल हुदैमा जीबन असफल हुदैन । धेरै बर्ष अघि तेह्रथुम जिल्लामा यो पंतिकारले चिनेका एकजना ब्यक्तिले पांचौपल्टको प्रयासमा तेश्रो श्रेणीमा एसएलसी उतिर्ण गरे । चार पल्ट अनुतिर्ण हुंदा पनि उनी निराश भएनन् र प्रयास छाडेनन् । आफ्ना साथीहरू बिए पास गरिसक्दा उनले आइए पढ्न थाले । पहिलो पटकमै राम्रो नंबरका साथ एसएलसी उतिर्ण गर्नेहरूले ‘ब्याक लगाए’ तर उनले सरासर आइए, बिए र उत्कृष्ट श्रेणीमा एमए समेत उतीर्ण गरे । पछि उनलाई शिक्षक नियुक्त गर्न जिल्लाका एक से एक उच्चमाबिले तानातान नै गरे । अहिले उनी आफूले रोजेको स्कूलमा एक कुशल शिक्षकको रुपमा कार्यरत छन्, र प्रतिष्ठित जीबन बिताइरहेका छन् । कयौं असफलताबाट पाठ सिकेर परिपक्व भएका उनलाई एसएलसीको तुलनामा माथिल्लो श्रेणीका अध्ययनहरू झन् सजिला भए । एक पटक असफल हुदैमा निरास भएका भए यस्तो सम्भव हुदैन थियो ।
यहां प्रसिद्ध हिन्दूग्रन्थ गीतामा कृष्णले अर्जुनलाई भन्नु भएको कुरा सान्धर्भिक हुन आउंछ – ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन, मा कर्मफलहेतुर्भूर्मा ते संगोस्त्वकर्मणि’ (अध्याय २: श्लोक ४७० )। अर्थात् कर्म राम्ररी सम्पन्न गर्नु हाम्रो दायित्य हो, फलको चिन्ता लिने काम हाम्रो होइन, त्यसैले फल कस्तो प्राप्त होला भन्ने चिन्ता नगरि कर्ममा ध्यान दिनु पर्छ ।
त्यस्तै अर्को प्रसङ्गमा भनिएको छ-‘ त्यक्त्वा कर्मफलासङ्ग नित्यतृप्तो निराश्रयस्, कर्मन्यभिप्रवृत्तोपि नैव किञ्चित्करोति स: (अध्याय ४: श्लोक २००) । यसको अर्थ- केवल राम्रो फलको लालसा मात्रै बोकेर हामी कुनै काम गरिरहेका हुन्छौ भने हामीले निरर्थक रूपमा आफूलाई ब्यस्तमात्र बनाईरहेका हुन्छौ, तर खासमा केही गरिरहेका हुदैनौ । हामी ग्रन्थहरूका श्लोकमा सदियौदेखि यस्ता गहन कुराहरू बाचन गरिरहेका छौ, तर तिनका मर्महरूलाई पनि मनन गरी ब्यबहारमा उतार्ने कुरामा भने हाम्रो कमजोरी छ । फलस्वरूप एउटा परिक्षामा अपेक्षा अनुसारको सफलता नपाएकै कारण कयौले ज्यान समेत दिने जस्ता घटनाहरू हाम्रो समाजमा बर्षेनी घट्छन् । माथि उद्दरण गरिएका श्लोकहरूलाई मनन गर्दा गीताको मर्मले कर्मलाई महत्वपुर्ण मान्छ, फललाई होइन । र, सत्य पनि यही हो । कर्म फेद हो भने फल हांगाबिंगा र पातहरू मात्र हुन् । फेद रह्यो भने हांगाहरू, पातहरू पलाइरहन्छन् । तसर्थ: नतिजाको भन्दा पनि परिक्षाको कदर गरौं, पछि जे जस्तो नतिजा आए पनि त्यसलाई सहर्ष सदर गरौं। एसएलसी परिक्षामा मेहनतका साथ सामेल भइ एउटा महत्वपूर्ण कर्मसम्पन्न गर्नु भएकोमा सम्पूर्ण परिक्षार्थीहरूलाई फेरी पनि हार्दिक हार्दिक बधाई !














प्रतिक्रिया