
काठमाडौँ, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले स्पष्ट बहुमत ल्याउने दावी गरेका छन् ।
बिहीबार काठमाडौँको प्रज्ञा भवनमा आयोजित अखिल नेपाल किसान महासंघको कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले दुई चार जना पार्टीबाट जाँदा फुटेको नहुने तर्क गरे ।
त्यस्तै, ओलीले प्रचण्ड नेपाल समूहले बन्द गरेर जनतामाथि ज्यादति गरेकोमा आक्रोश व्यक्त गरे । उनले सो समूहलाई कानुनको पालना गर्न पनि चेतावनी दिए ।
‘बाटाको छेउमा बेच्न राखेको टमाटर तरकारी फ्याँकिएको छ,’ उनले भने, ‘उहाँहरु आक्रामक ढंगले आउनुहुन्छ, नियम मान्दिनँ भन्नहुन्छ । प्रजिअ, एसपी डिएसीलाई हप्किदप्की गर्नुहुन्छ । कानुनको पालना गर्नुस् हप्किदप्की होइन ।’
प्रधानमन्त्री ओलीले भने, ‘प्रचण्डलाई म सम्झाउछु ती दिन गए, जतिबेला हप्कीदप्की गर्नुहुन्थ्यो । लोकतन्त्र भनेको कानुनको पलाना गर्ने हो, बलमिच्चयाइको राज होइन । ती दिन गए जतिबेला तपाईं संविधान मान्दिनँ कानुन मान्दिनँ भनेर उपद्रव मच्चाएर हिँड्नुभएको थियो ।’
त्यस्तै, प्रचण्डमाथि टिप्पणी गर्दै ओलीले जनताका गाडी जलाएको तमासा हेर्न आफू गाडीमा चढेर गएको बताए । । ‘अरुका गाडी जलाउनुभयो, आफू गाडीमा सयर गरेर तमासा हेर्नुभयो, जनताले कति दुःख पाए भनेर,’ उनले भने, ‘अर्काे नेता बाइक लिएर जनताले कति दुःख पाए भनेर रमिता हेर्दै हिँडेका छन् । कार्यकर्ता छैनन्, आफैं उत्रिनुभयो ।’















प्रतिक्रिया