
काठमाडौँ, २० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले लडाईँमा नहारेको देश नेपालले खेल पनि जित्नकै लागि खेल्नुपर्ने बताएका छन् ।
मंगलबार राष्ट्रिय खेलकुद परिषद्ले काठमाडौँमा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खेलमा हारजितको ठूलो महत्व रहने र कुनैपनि खेल जित्नकै लागि खेल्नुपर्ने बताएका हुन् ।
‘लडाईमा नहार्ने देश यत्रायत्रा डल्लासँग किन हार्ने ? खेल भन्या केहो ? एउटा भकुण्डो नै हान्ने त हो नि । किन हार्ने ? क्रिकेटमा एउटा बल हान्ने हो त्यसमा किन हार्ने ? सितेरियो, कराँते, कम्फु र भारत्तोलन, किन हार्ने ?’ अशान्ति जीत र हारका आधारमा हुने भन्दै उनले भने, ‘संसद भंग भईसक्यो चुनाव हुन लागिसक्यो, हुनुहुँदैन भनेर कराईरहेका छन् त्यो जीतका लागि हो ।’
प्रधानमन्त्री ओलीले जितका खेलमा आवश्यक न्युनतम आवश्यकत परिपूर्ति गर्न सरकार प्रतिवद्धता रहेको समेत जनाए ।
पछिल्लो समय आवश्यक नभई देखिएको सामान किन्ने चलन देखिएको भन्दै उनले भने, ‘चाहिएको कपडा/सामान किन्नका लागि होइन, राम्रो देख्यो उठायो । सरकारले सपिङका लागि होइन,चाहिएको सामान किन्नका लागि सहयोग गर्न सक्छ । गच्छेअनुसारको सहयोग गर्छ । अगामी बर्ष पहिलेको बजेट भन्दा बढेर आउँछ ।’
प्रधानमन्त्री ओलीले परिषदलाई कुनै पनि पक्षधरको आधार विना प्रशिक्षक तथा खेलाडी छनोट गर्न पनि सुझाव दिएका छन् ।
उनले खेलाडी छनोटदेखि तालिमसम्म कुनै पनि कुरामा भेदभाव हुन नहुने भन्दै परिषदलाई सचेत गराएका छन् ।
विजयी भएर मेडल ल्याउँदा देशको गौरव बढ्ने बताउँदै प्रधानमन्त्री ओलीले प्रशिक्षण तथा प्रशिक्षक छनोटमा प्रविधिको प्रयोग गर्न तथा खेलकुदमा लगानी गरिएको अनुत्पादक नहुने दावी गरे ।
नेपालको भूगोल अनुसारको खेल छनोट गरी सहभागिता गराउन र पैसाको अभावका कारण खेलमा सहभागी हुनबाट बच्नेबारे ध्यान दिन प्रधानमन्त्री ओलीले परिषदलाई सुझाव दिएका छन् ।
त्यस्तै, उनले कोरोना महामारी नियन्त्रण हुने वित्तिकै खेलकुद लगायतका क्षेत्रमा लगानी बढाउन सकिने बताए ।
खेल क्षेत्रमा सरकारको सधै सहयोगी भूमिका रहने विश्वास दिलाएका ओलीले राष्ट्रिय अन्तराष्ट्रिय प्रतिष्पर्धामा मात्रै नभई खेललाई स्वास्थ्य र सामान्य जीवनको अंग बनाउनुपर्ने बताए । खेललाई सबैले प्रतिरोध क्षमता वृद्धि गर्न र सामाजिक संस्कृति र जीवनपद्धतिको रुपमा स्थापित गर्नुपर्ने प्रधानमन्त्रीको भनाई छ ।
त्यस्तै, प्रत्येक वर्ष एउटा प्रदेशमा रंगशाला बनाउने योजनामा विकास विरोधीहरुले गर्न नदिएको बताउँदै प्रधानमन्त्री ओलीले निर्वाचनपछि त्यस कार्यलाई निरन्तरता दिने बताए ।















प्रतिक्रिया