काठमाडौँ, १५ चैत । नेपालका पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घ भोलि ६० औँ वर्षमा प्रवेश गर्दैछ । स्थापनाको ६० औँ वर्ष प्रवेशका अवसरमा महासङ्घले आज साँझ देशभरका पत्रकारमा हार्दिक शुभकामना तथा बधाइ ज्ञापन गरेको छ ।
मुलुकमा नागरिक अधिकार, पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हकहितका लागि अग्रजहरूले देखाएको मार्गमा अविचलित भई निरन्तर लागिरहने प्रतिबद्धता महासङ्घले व्यक्त गरेको छ ।
महासङ्घले लोकतान्त्रिक संविधान निर्माणका निम्ति सहमति, सहकार्य र विश्वासको वातावरण बनाउन र चाँडोभन्दा चाँडो जनचाहनाअनुसारको संविधान जारी गर्न सम्बद्ध पक्षलाई आग्रह गर्दै त्यसमा हरतरहले सहयोग गर्ने दृढता पनि व्यक्त गरेको छ ।
पत्रकारहरूको भौतिक एवम् पेशागत सुरक्षा चुनौतीपूर्ण रहेको जनाउँदै महासङ्घले आज जारी गरेको विज्ञप्तिमा जनताको सूसुचित हुने अधिकार प्रत्याभूत गर्न कार्यक्षेत्रमा खटिएका सञ्चारकर्मीको सुरक्षामा गम्भीर हुन कानुन कार्यान्वयन गर्ने निकायसँग अनुरोध गरेको छ ।
यसैबीच, महासङ्घले कोसी राजमार्ग नजिकको जङ्गलमा मृत फेला परेका महासङ्घको उदयपुर शाखा सम्बद्ध पत्रकार रामप्रसाद भट्टराई ‘सचिन’ प्रति श्रद्धाञ्जलि अर्पण गर्दै घटनाको वास्तविकता पत्ता लगाउन र मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
साथै महासङ्घले केन्द्रीय सदस्य एवम् पूर्वाञ्चल संयोजक गणेश पोखरेलको संयोजकत्वमा चार सदस्यीय ‘मिसन’ गठन गरेको जनाएको छ ।
यस्तै, ६० औँ वर्षगाँठको अवसरमा काठमाडौँ जिल्ला शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गर्नुभएको छ ।
शाखाको कार्यालय भृकुटीमण्डपमा आज आयोजना गरिएको सो रक्तदानमा महासङ्घका केन्द्रीय अध्यक्ष डा महेन्द्र विष्ट, पत्रकार तथा सञ्चारकर्मीहरू प्रभात चलाउने, लक्की चौधरी, रोहित दाहाल, गोविन्दप्रसाद चौलागाईं, किरण भट्टराई, कोपिला प्रसाईं, शान्ताराम विँडारी, फणीन्द्र दाहाल, सन्तोष वराइली, रूवि श्रेष्ठ, अन्जना गुरूङ र वद्री पौडेललगायतले रक्तदान गर्नुभयो ।
महासङ्घका अध्यक्ष डा विष्टले रक्तदान कार्यक्रमको उद्घाटन गर्दै सिङ्गो पत्रकारिता जगत्ले व्यावसायिक पत्रकारिताको पक्षमा आवाज उठाउनुका साथै सामाजिक कार्यमा समेत सक्रियता देखाउनु सकारात्मक हो भन्नुभयो ।















प्रतिक्रिया