
काठमाडौँ, १९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पालमा मधेश र देशमा विकास भएको दावी गरेका छन् ।
धनुषाको ढल्केवरमा सोमबार विद्युत सवस्टेसन उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले आफ्नै पालामा मधेश र देशमा विकास भएको र मधेशको विकास द्रुतगतिमा हुने दावीसमेत गरे ।
उनले भने, ‘मधेश र देशको विकासको लागि संकल्प लिएर अगाडि बढेको छु ।’
प्रधानमन्त्री ओलीले आफूलाई मधेश विरोधी भनेर हल्ला फैलाइरहेकाहरुबाट सचेत रहन आग्रह गर्दै त्यस्ता हल्लाका पछि नलाग्न आग्रह गरेका छन् ।
मुलुककै सबैभन्दा बढी क्षमता भएको विद्युतीय सवस्टेशनको उद्घाटन गर्दै ओलीले आफू मधेशको विकास र समृद्धिको पक्षमा रहेको दावी गरे ।
उनले भने, ‘केपी ओलीलाई मधेसविरोधीको रुपमा यहाँ चित्रण गरिएको छ, मलाई मधेसविरोधी भन्नेहरुलाई चुनौती दिन्छु, मैले जति गरेको विकास मधेसमा कसैले गरेर देखाओस् ।’
आफूलाई मधेस विरोधी भन्ने नेताहरुलाई उनले डुम, चमार, खत्वेका बालबालिकालाई काँधमा उठाएर देखाउन चुनौतीसमेत दिए । ‘खोक्रा नारा लगाएर हुँदैन, काम गरेर देखाउनु पर्छ,’ उनले भने ।
अगाडि उनले भने, ‘मधेसका सडक, नाला, ढल, विभिन्न लोभलाग्दा स्थलहरु अस्तव्यस्त थिए, ढल थिएन । कसैले निर्माण गर्न रोक्या थियो र ?’
त्यस्तै, मधेशको कृषिलाई आधुनिकीकरण गर्न योजना बनाइने पनि बताए । त्यस्तै, उनले निर्धारित मितिमै निर्वाचन हुने बताउँदै सबैलाई तयार रहन आग्रह समेत गरेका छन् ।
उनले भने, ‘तपाईंहरू चुनावको तयारीमा लाग्नुस्, मिति एक दिन पनि तलमाथि हुँदैन, पछाडि धकेलिँदैन ।’
उनले नेकपा विवादले चार पाँच सय अर्कोतिर जाँदैमा केही फरक नपर्ने जिकिर गरे ।















प्रतिक्रिया