– ईश्वर भट्टराई
उर्लाबारी, १५ चैत । समग्र जिल्लाको तुलनामा मोरङ सुगममा पर्दछ । तर, यही जिल्लाको पहाडी गाविस कुनै दुर्गमको भन्दा कम छैन ।
जिल्लाको पूर्वीउत्तर गाविस रमितेखोला दुर्गम पहाडी गाविसमध्येको एक हो ।
लामो समयदेखि ठूलो अपमान र सीमान्तकरण भोगेको रमितेखोला कर्णाली प्रदेशभन्दा फरक पर्दैन । यहाँ अझैंपनि शिक्षा, स्वास्थ्य, सडक लगायतका आधारभूत पूर्वाधार पुग्न सकेको छैन ।
यहाँका जनतामा राज्यप्रति ठूलो आक्रोस छ । उनीहरू भन्छन्, ‘हाम्रा पीरमर्का सुनिदिने सरकार अहिलेसम्म बनेको छैन ?’ यस्तै, आफूहरू कहाँ आइपुग्ने सरकार कहिले बन्छ भन्दै उनीहरू प्रतिक्षामा छन् ।
यद्यपि यो प्रतिक्षापनि दशकौंदशक बितिसकेको छ । तरपनि रमितेखोलाजस्ता नेपालका धेरै गाविसले अहिलेसम्म सरकारी सेवासुविधा कस्तो हुन्छ महसुस गर्न पाएका छैनन् ।
रमितेखोला पुग्ने सडक हिउँदको समयमा सञ्चालनमा आएपनि वर्षायाममा पहिरो तथा हिलाम्मे हुँदा स्थानीयले बर्सेनि सास्ती खेप्दै आएका छन् । सामान्यतः वर्षा हुनेवित्तिकै पहिरो जाँदा सडक अवरूद्ध हुने गरेको स्थानीय पर्वत राई बताउनुहुन्छ ।
पूर्वपश्चिम राजमार्गको उर्लाबारी किसानचौकबाट २८ किलोमिटर उत्तरमा अवस्थित रमितेखोला पुग्न दुईवटा मार्ग रहेका छन् । मंगलबारे हुँदै साम्लिङ रमितेखोलादेखि मिक्लाजुङ र किसानचौक टाँडीहुँदै रमितेखोला मिक्लाजुङ जोड्ने सडक ।
दुबै सडक पूर्णरूपमा सञ्चालनमा आउन सकेका छैनन् । यदि कुनै काम लिएर गाविस बाहिर जानुपर्ने भयो भने उतै बास बस्ने गरी जानुपर्ने हुन्छ । विद्युत प्रसारण लाईन समेत अझैं विस्तार हुन सकेको छैन ।
जसका कारण स्थानीवासी टुकीका भरमा बस्नुपर्ने बाध्यता छ । स्थानीय सुहान लिम्बू भन्नुहुन्छ, ‘टुकीको भरमा अँध्यारो छिचोलेका छौं तर, टुकी बाल्न मट्टितेल चाहिन्छ । त्योपनि सहज उपलब्ध छैन ।’
गाविस सचिव लुकनाथ पोख्रेलका अनुसार बिजुलीबत्तीकै कारण स्थानीयले बढीभन्दा बढी सास्ती व्यहोर्नु परेको छ । नेपाल विद्युत प्राधिकरण बेलबारी वितरण केन्द्र र गाविसको ७ लाख ५० हजार संयुक्त लगानीमा चालू आर्थिक वर्षमा बिजुली विस्तार गर्ने तयारी भइरहेको उहाँको भनाइ छ ।
पहाडी भुवनोटले चारैतिर घेरिएकाले उब्जनीका लागि खेती गर्ने स्थानको अभाव हुँदा यहाँ अन्न किनेर खानुपर्ने बाध्यता छ । यहाँ फल्ने मकै र कोदोले मुस्किलले तीन महिना टार्ने स्थानीय बताउँछन् पेट भर्नका लागि ९ महिना अन्न नकिनी अरू विकल्प नरहेको स्थानीय हर्कबहादुर राई बताउनुहुन्छ ।
अलैची, अम्लिसो लगायतका प्रमुख नगदेवादी उत्पादन हुने भएपनि ढुवानीका लागि सहज नहुँदा कृषकहरूको जीवनस्तर माथि उठ्न सकेको छैन । पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण मानिएको यस क्षेत्रमा पर्यटनको प्रचार प्रसार समेत ओझेलमा नै छ ।
पूर्वाञ्चलको १६ जिल्ला देख्न सकिने मिक्लाजुंग डाँडा, रमणीय वातावरण तथा धार्मिक क्षेत्रमा समेत उत्तिकै महत्व बोकेको यस क्षेत्र पर्यटनको प्रचुर सम्भावना रहेको छ । स्थानीयबासी तथा रमितेखोला गाविस कै मुहार फेर्नका लागि कृषि तथा पर्यटनको सम्भावना हुँदा हुँदै पनि राज्यस्तरबाट भने कमै उपस्थिति हुने गरेको छ । जसले गर्दा गाविस कर्णालीभन्दा कम छैन ।
यस्तै, गाविसभरि (टाँडी मावी) एउटा मात्रै मावि छ । मावि उत्तीर्ण गरेका विद्यार्थी पनि उच्च शिक्षा पढाइका लागि छिमेकी गाविस टाँडी, मधुमल्ला, उर्लाबारी नगरपालिका नै बसेर पढ्नुपर्ने अवस्था छ । ‘गाउँमै उच्च मावि छैन, पढ्नु त पर्यो,’ स्थानीय पार्वती राई भन्नुहुन्छ ।
स्वास्थ्य सेवाका लागि एउटा मात्रै भए पनि उपस्वास्थ्य चौकी छ । गम्भीर रोगका बिरामीलाई तत्काल उपचारका लागि सम्भव छैन । बिरामीलाई उर्लाबारी, विराटनगरसम्म लानुपर्ने बाध्यता छ । यहाँ एम्बुलेन्सको समेत व्यवस्था छैन । टाँडी, उर्लाबारीबाट एम्बुलेन्स बोलाउनुपर्ने भएकाले विरामीको अकालमै ज्यान जाने गरेको समेत छ ।
यस्तै, गाविस भरि नै खानेपानीको समस्या छ । एक गाग्री पानी लिन टाढा धाउनुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । उता गाविस कार्यालयमा कुनै सेवा लिन आउने सेवाग्राहीहरू आउँदा दिनभरको समय खचिनुपर्ने बाध्यता छ ।
२ नम्वर वडामा रहेको गाविस कार्यालयमा वडा नम्वर ५ का वडावासीहरू आउन मात्र पैदल पाँच घण्टा हिँड्नुपर्छ । गाविस कार्यालयमा पुग्ने सेवाग्राहीले सामान्य फोटोकपी गर्न समेत उर्लाबारी र मधुमल्ला धाउनुपर्ने बाध्यता छ । रमितेखोला– ५ की धुनषा लिम्बूका अनुसार फोटोकपीको व्यवस्था नहुँदा गाविसको सेवा लिनपनि समस्या भएको छ ।
३ हजार ६ सय ८६ जनसंख्या रहेको गाविसमा अधिकांश युवा विदेशमा छन् । युवा विदेसिनाले यहाँका गाउँघर सुनसान र ६० काटेका बुढापाका मात्र छन् । गाउँमा कोही बिरामी तथा मरिमराउ भएमा छिमेकी वडाबाट युवा बटुल्नुपर्ने बाध्यता छ ।
















प्रतिक्रिया