३ कार्तिक २०८३, मंगलबार

दुर्घटनामा परी कास्की र सुनसरीमा ३ जनाको मृत्यु, ७ जना घाइते

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ माघ । कास्की र सुनसरीमा भएका छुट्टा–छुट्टै दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् ।

पोखरा–बाग्लङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए ।

प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

जीपमा ९ जना सवार रहेकामा घाइतेको हाल सहारा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले बताए । पोखरा–२५ हेमजाबाट पोखराबजारतर्फ आउँदै गरेको बा२च ७४१० नंको जीप राजमार्गको याम्दीमा सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

जीप अनियन्त्रित भएपछि सडकबाट अन्दाजी २५ मिटर तल खसेको बताइएको छ ।

यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका–१ आँपगाछीमा शनिबार साँझ सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धरान–१० का ३० वर्षीय विक्रम चेमजोङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

इटहरीबाट धरानतर्फ जाँदै गरेको को ३२ प ६७१६ नंको मोटरसाइकल र धरानबाट इटहरीतर्फ आउँदै गरेको को१ख ५५२७ नंको ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार चेमजोङको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

मोटरसाइकलमै सवार धरान–१० का साइल तुलाधर घाइते भएका छन् ।