मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

केटु हिमालको सफल आरोहण गरेर नेपाली टोलीले बनायो नयाँ विश्व कीर्तिमान

दैनिक नेपाल २०७७ माघ ४ गते ११:४८

काठमाडौं, ४ माघ । हिउँद महिनामा केटु हिमालको सफल आरोहण गरेर नेपाली टोलीले नयाँ विश्व कीर्तिमान बनाएको छ ।

१० जना नेपाली पर्वतारोहीको एक टोलीले हिउँदमा विश्वको दोस्रो सर्वोच्च शिखर केटुको सफल आरोहण गरेर उक्त कीर्तिमान कायम गरेको हो । टोलीका सदस्य निर्मल पुर्जा स्थानीय समयानुसार शनिबार बेलुकी ५ बजे शिखरमा पुगेका हुन् ।

शिखरमा पुग्ने १० नेपालीहरूमा पुर्जा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जेन शेर्पा, पेम छिरी शेर्पा, दावा तेम्बा शेर्पा, मिङ्मा जी, दावा तेन्जीन शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पा रहेका छन् ।

सन् १९८७–८८ मा पहिलो प्रयास गरिएपछि केटुको शिखरमा हिउँदमा पुग्ने थोरै मात्रै प्रयास भएका थिए । यस अघिसम्म ७ हजार ६५० मिटरभन्दा माथि कोही पुगेका थिएनन् ।

यो हिउँदमा उक्त हिमालमा दर्जनौँ पर्वतारोहीहरू उक्त विश्व कीर्तिमान कायम गर्ने प्रयासमा थिए । आरोहण दलमा १० नेपालीहरू सुरुमा फरक–फरक दलमा समावेश भएको भए पनि पछि नेपालको नाममा कीर्तिमान कायम गर्न एकै दल बनाएका थिए ।

सगरमाथाभन्दा २०० मिटर मात्रै कम उचाइको केटु पाकिस्तान चीन सिमानामा रहेको काराकोरम हिमश्रृङ्खलामा अवस्थित छ । संसारमा भएका ८ हजार मिटरभन्दा अग्ला १४ शिखरमध्ये केटु हिउँदमा आरोहण गर्न सबैभन्दा कठिन मानिन्छ ।

कठिन भएकै कारण केटुको एउटा साँघुरो स्थानमा आरोहण गर्ने क्रममा सन् २००८ मा ११ जना पर्वतारोहीको मृत्यु भएको थियो ।

सफल आरोहीमध्ये एक निर्मल पुर्जाले इन्स्टाग्राममा शिखरको तस्बिर राखेका थिए भने उनीहरूको सफलतालाई व्यवस्थापक सेभेन समिट ट्रेक्सले पनि पुष्टि गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित