काठमाडौँ । राजधानीको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले मिसन टू सेभ हार्ट नामक अभियान शुरु गरेको छ ।
आफ्नो नियमित सिएमई कार्यक्रमलाई केही औपचारिक र बृहत बनाउँदै ग्राडी अस्पतालले यो अभियान शुरु भएको घोषणा गरेको हो ।

अभियानको पहिलो चरणमा शनिबार उपत्यकाका बिभिन्न अस्पतालमा कार्यरत १५० जना डाक्टरहरु र बिभिन्न मेडिकल कलेजमा अध्ययनरत बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।
ग्राण्डी अस्पतालले संचालन गरेको अभियानको मुख्य उद्देश्य देशका बिभिन्न स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिलाई उनीहरुको बिशेषज्ञता भएको क्षेत्रको सीप र दक्षतामा सहयोग पुर्याउनु रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका ईन्टरभेन्सनल कार्डियोलोजी बिभागका प्रमुख डा ओममूर्ति अनिलले बताउनु भएको छ ।
उहाँले बिषेज्ञता र अनुभव कम भएका जनशक्तिहरुलाई तालिम मार्फत सबलिकरण गरेर स्थानीय स्तरमा नै उपल्ब्ध श्रोत र साधनको अधिकतम उपयोगबाट हार्ट अट्याकबाट आउने इमरजेन्सीहरु कम गर्न सकिने समेत बताउनु भएको छ ।
हृदयाघातका कारण हरेकबर्ष २० हजार जना भन्दा बढी मानिसको मृत्युहुने गरेको बिश्व स्वास्थ्य संगठनको पछिल्लो अध्ययन प्रतिबेदनमा उल्लेख छ । अन्य अन्तर्राष्ट्रिय प्रतिवेदनहरुमा भने हरेक बर्ष ४० हजार जना भन्दा बढी मानिसको मृत्यु हुने गरेको उल्लेख छ ।

हृदयाघात भएपछि दक्ष चिकित्सकको अभावमा समयमा उपचार नपाउनु नै मृत्युको मुख्य कारण रहेको चिकित्सकहरुको भनाई छ ।
कार्यक्रमका बीच असहाय र बिपन्न मुटु रोगीहरुकालागि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका तर्फवाट गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले २५ लाख रुपैँयाको अक्षय कोष पनि घोषणा गर्नुभएको थियो । डा महतोले सामान्य आयस्तरका नेपालीको पहुँचमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको उपचार सेवा पुर्याउने उद्देश्यसहित पाँचसय रुपैँयाको जनरल बेडको समेत घोषणा गर्नुभएको थियो ।
एनएमसी ग्रुपका अध्यक्ष तथा सिईओ डा बीआर सेठ्ठीले उद्घाटन गर्नुभएको आजको कार्यक्रममा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका अध्यक्ष दीपक कुँवर, मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डे, गैरआवासिय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, भारतको बिएके अस्पतालका बरिष्ठ मुटुरोग बिशेषज्ञ डा सुवास चन्द्र सँगै नेपाल र भारतका बरिष्ठ डाक्टरहरु लगायतका बिशिष्ठ ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।















प्रतिक्रिया