२९ आश्विन २०८३, बिहिबार

बैठकस्थल विवाद र सिद्धान्तको विषय हुन सक्दैन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Surya-thapa

हाम्रो पार्टी नेकपा (एमाले)को केन्द्रीय कमिटी वा स्थायी कमिटीको बैठक कहाँ बस्ने ? लगायतका कुराहरु यतिबेला सार्वजनिक संचारमाध्यममा बहस तथा छलफल चलिरहेको छ । सैद्धान्तिक रुपमा पार्टी कार्यालयमा बैठक बस्नुपर्छ भन्ने सार ठीकै होला । तर रुपमा अध्यक्षको घर बैठक गरेको भनेर विरोध गर्नु वा बैठकमा नजानु गलत हो । किनभने नेताहरु कहाँ बैठक बस्नुहुन्छ ? यो ठूलो कुरा होइन्, नेताहरुले बैठक गरेर के निर्णय दिनुहुन्छ ? त्यो ठूलो कुरा हो । कता फर्केर बैठक गर्नुहुन्छ या गर्नुहुन्न भन्ने हाम्रो त्यति ठूलो सरोकार होइन् । विधानले भन्छ – गणपूरक संख्या पुगेपछि बैठक हुन्छ । एमालेका सबै तहका नेताहरु अझ स्थायी कमिटीको बैठकमा त स्थायी कमिटीका सबै नेताहरु उपस्थित भएर बैठक बसी सर्वसम्मतिले निर्णय गर्ने हाम्रो परिपाटी रहँदै आएको छ । त्यसो भएको हुनाले चियाको कपमा आँधी तुफानहरु ल्याउने प्रयत्नहरु नल्याउँदा नै उचित हुन्छ भन्ने नेतृत्वलाई आग्रह गर्न चाहन्छु ।

अध्यक्षको घर बैठक गरेको भनेर विरोध गर्नु वा बैठकमा नजानु गलत हो । किनभने नेताहरु कहाँ बैठक बस्नुहुन्छ ? यो ठूलो कुरा होइन्, नेताहरुले बैठक गरेर के निर्णय दिनुहुन्छ ? त्यो ठूलो कुरा हो ।

विगतमा हामी गिरिजाप्रसाद कोइरालाको शयनकक्षमा बोलाइएका बैठकमा सम्म पटकपटक सहभागी भयौँ । तर आफ्नो पार्टीको अध्यक्षको घरमा बैठक गर्ने कुरालाई विषय बनाउँदैछौँ हामी । अहिले हामी के छलफल गरिरहेका छौँ अनि कति गम्भीरताका साथ बैठकलाई लिइरहेका छौँ भन्ने कुरा सबै नेताहरुले बुझ्न जरुरी छ ।

म एउटा कुरा स्पष्ट राख्न चाहन्छु , यो मेरो निजी विचार हो । केपी ओली चुनाव लड्ने बेला नै बिरामी हुनुहुन्थ्यो । दुई–दुई महिनासम्म भारत र बैंककमा उपचारका लागि बस्नुभएको थियो । केपी ओली अध्यक्ष निर्वाचित हुँदा बैठक कार्यालयमा पनि हुनसक्छ, अस्पतालको सामान्य र सघन उपचार कक्षमा पनि हुनसक्छ, अनि घरमा पनि बैठक हुनसक्छ भन्ने कुरा त्यतिबेलै महाधिवेशन प्रतिनिधिहरुले बुझेरै मतदान गरेका हुन्, त्यो महाधिवेशनको म्यान्डेड हो, फैसला हो । त्यसो भएको हुनाले यो कुनै विवादको विषय होइन् । नेताहरुले आजको आवश्यकता र बाध्यताका बीच उभिएर सहमतिलाई ध्यानमा राख्दै यी छलफल र निर्णयहरु गर्नुपर्छ । एमाओवादी र नेपाली काँग्रेसका नेताहरु पनि हाम्रो पार्टीका अध्यक्षलाई भेट्न सामूहिक रुपमा उहाँकै निवासमा पुगेको यथार्थ हो ।

स्थायी कमिटीको बैठक बसेर अति जरुरी निर्णय लिने सन्दर्भमा मनमोहन अधिकारी बिरामी हुँदा टिचिङ अस्पतालको कक्षमा पनि बैठक भएको थियो । २०५४ सालमा पार्टी फुटेको बेला माधव नेपाल कमरेडको घरमा पनि बैठक नभएको होइन् । केपी ओली बिरामी हुँदा ग्राण्डी अस्पतालमा पनि बैठक भए । केपी कमरेड स्वस्थ हुँदा अहिले पार्टी कार्लालय बल्खुमा धेरै बैठक भएका छन् । र, केही बैठक उहाँका घरमा पनि हुँदै आएका छन् । रिसोर्ट र प्रतिष्ठानका कार्यालयहरुमा पनि हाम्रा दर्जनौँ बैठक बसेका छन् । कहाँ बैठक हुने ठूलो कुरा होइन्, के निर्णय गर्ने ठूलो कुरा हो । र, कुन निर्णय पार्टीले गर्नु ठीक हो या होइन् भन्ने महत्वपूर्ण विषय हो ।

अझ अहिले एकखालको अर्को तुफान पनि सिर्जना गर्ने काम भइरहेको छ । माधव नेपाल कमरेडका पालामा पासपोर्टलाई डिजिटलाइज (एमआरपी) गरियो, राम्रै भयो । बामदेव गौतम कमरेड आफ्नो पालामा अब अनलाइन भिसाका लागि प्रक्रिया अगाडि बढाउने कुरा गर्दै हुनुहुन्छ । यस विषयमा हाम्रा नेताहरु पार्टीको धारणा बनाउँदैनन्, पदाधिकारीहरु बसेर छलफल गर्दैनन्, तर संसदीय समितिमा गएर आफ्ना आफ्ना डम्फु बजाउँछन् । यस्तो खालको अराजकता रोकिनुपर्छ ।

अहिले अनलाइन भिसामा जाने हो कि होइन ? एमालेको दृष्टिकोण के हो ? स्थायी समितिले यसबारेमा के छलफल गरेको छ ? त्यसबारेमा दृष्टिकोण बनाएर नेताहरु बोल्नुपर्छ । नेताका डम्फु र मादलको आवाज हामीले सुन्न चाहिरहेका छैनौँ । नेताहरु एक्लै हिँड्न खोजिरहेका देखिन्छन् । एकल रुपमा हिँडेर पार्टीलाई विवादमा ल्याउने काम गरिरहेका छन् । तर, हामी चाहन्छौँ– हाम्रो नेतृत्व असाध्यै बाँडिएको या छरिएको नहोस्, एकढिक्का होस् । सँधैभरि महाधिवेशनको ह्याङओभर लागेको र रमिता वा हाटबजार जस्तो जो जता फर्किएपनि हुने जस्तो स्वतन्त्रता नहोस् । महाधिवेशन एउटा सन्दर्भमा भएको हो, सकियो । अब चार बर्ष पार्टी सुदृढीकरण गर्ने हो । त्यसपछि महाधिवेशनको अभ्यास गरौँला । अहिले पार्टीलाई एक नम्बरको बनाउने कुरा मुख्य हो । अहिले केन्द्रीय सदस्यहरुले त सबै निर्णय गर्न स्थायी कमिटीलाई म्यान्डेड दिएकै छौँ ।

अन्तिममा मेरो सन्दर्भमा केही भन्न चाहन्छु, पार्टीले मलाई प्रचार विभागको उपप्रमुखको जिम्मेवारी दिएको मैले पनि सार्वजनिक संचारमाध्यमबाट थाहा पाएको हो । यस सन्दर्भमा मलाई भन्नु केही छैन । तर, नेतृत्वले सोध्दा मैले रोजेको पर्यटन प्रबर्धन विभाग हो । बितेको १२ बर्ष प्रचार विभागको सदस्य हुँदै सचिव रहेँ । ८ बर्ष त प्रचार विभागको सचिव नै भएँ । त्यसकारण मैले प्रचार विभागमा अरु नै साथीलाई अवसर मिल्दा राम्रै हुन्छ भन्ने सोचेको थिएँ ।

अबको बाँकी समय मलाई देशका लागि आवश्यक पर्यटन नीति र कार्यक्रम बनाउने तथा गन्तव्यहरुको पूर्वाधार निर्माणमा योगदान पुर्‍याउने इच्छा छ । तर, पार्टीले जे जिम्मा दिन्छ त्यो काम गर्ने र पार्टीले खटाएको काममा लाग्ने मेरो प्रण हो । म एउटा कविता लेखेर जीवन भएर कवि दाबी गर्ने मानिस होइन्, जिन्दगीभर कविता लाग्न चाहने र उत्कृष्ट ठहरिनुपर्छ भन्ने व्यक्ति हुँ ।