
काठमाडौं, १ माघ । कोरोना भाइरसको उद्गमस्थल देश चीनमा ८ महिनापछि पहिलो पटक कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको छ ।
आठ महिनापछि कोरोना भाइरसको सङ्क्रमणबाट तीनको हेबेई प्रान्तमा बिहीबार एक जनाको ज्यान गएको अल जजिराले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढेपछि हेबई प्रान्तमा समुदाय स्तरमा कोरोना परीक्षण भइरहेको दाबी समेत उक्त टेलिभिजनले गरेको छ ।
जोखिम बढेपछि त्यहाँको यातायात, बजार पसल तथा विद्यालय बन्द भएका छन् । जोखियुक्त सहरमा त्यहाँको सरकारले लकडाउन समेत गरेको छ ।
दुई करोड मानिस घरभित्रै बसेका छन् । केही दिनअघि मात्रै राजधानी बेइजिङसँग जोडिएको हेबेईमा एकैदिन ५० जनाभन्दा सङ्क्रमित भेटिएका थिए । चीनमा आज एकैदिन १३८ जना सङ्क्रमित भेटिएका छन् ।
गएको वर्षको मार्च महिनापछि एकैदिन यति धेरै मानिसमा सङ्क्रमण भएको यो पहिलो पटक हो ।
यसैबीच कोरोना भाइरसको उत्पतिबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को टीम आज चीन जाँदै छ । डब्ल्यूएचओको टोलीलाई चीनले वुहानमा प्रवेश दिन्छ वा दिँदैन यसबारे केही खुलाएको छैन ।
कोरोना भाइरसको अध्ययनका लागि डब्ल्यूएचओले आफ्नो टीम वुहान पठाउन लामो समयदेखि चीनसँग छलफल गरेको थियो । यसअघि कोरोना भाइरसबारे अध्ययनका लागि विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले तयार पारेको टीमलाई चीनले प्रवेशमा रोक लगाएको थियो ।
सन् २०१९ को अन्त्यमा पहिलो पटक वुहानमा देखिएको कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वभर फैलिएको छ ।















प्रतिक्रिया