
काठमाडौं, २९ पुस । नबिल बैंकले आफ्नो ३६औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालको अध्यक्षतामा बुधबार बसेको साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ३५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकको सञ्चालक समितिले सिफारिस गरेको तथा नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार उक्त प्रस्ताव पारित गरिएको बैंकले बताएको छ ।
साधारणसभाले सर्वसाधारण शेयरधनी समूहको प्रतिनिधित्व गराउँदै अनन्त पौड्याल र प्रविन टिवडेवालालाई निर्विरोध निर्वाचित गरेको छ ।
आर्थिक वर्ष २०७६/७७ मा ३ अर्ब ४६ करोड मुनाफा कमाएको साधारणसभामा जानकारी दिइएको छ । बैंकको उक्त मुनाफा निजी क्षेत्रका बैंकहरूमध्ये उच्चतम भएको बैंकको दाबी छ ।
यस्तै बैंकले जेथामा प्रतिफल १३.६१ प्रतिशत र प्रतिशेयर आम्दानी रू. ३६.१६ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै रू. २ खर्ब ३७ अर्ब पुर्याएको जानकारी पनि दिएको छ । समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको शेयरपू“जी रू. १३ अर्ब ४८ करोड नाघ्ने छ ।

साधारणसभामा आफ्नो मन्तव्य व्यक्त गर्दै बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले नेपालको बैंकिङ क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवं औद्योगिक गतिविधिहरूलाई गतिशीलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरू सृजना गर्न नबिल बैंकले सहयोगी भूमिका निर्वाह गरेको बताएका छन् । यस्तै सरकारी कोषमा करमार्फत योगदान पुर्याउन पनि बैंक सफल भएको उनको भनाइ छ ।
‘हामी ठूलो बैंकसँगै राम्रो र विश्वसनीय बैंक कायम रहिरहने लक्ष्यमा छौं’, उनले भने, ‘बैंकले संस्थागत सुशासन र ग्राहकको सन्तुष्टिलाई उच्च प्राथमिकतामा लागेको छ । बैंकले स्थापनाकालदेखि हालसम्म रू. २१ अर्ब भन्दा बढी रकम त देशको राजस्वमा योगदान गरिसकेको छ ।’
वास्तविक अर्थतन्त्रलाई सहयोग पुर्याई समग्र अर्थतन्त्रको सुखद भविष्यका लागि हाम्रा प्रयासहरूलाई अझ बलियो बनाउँदै लैजाने प्रतिबद्धता अध्यक्ष पौड्यालको छ । त्यसैगरी, उनले बैंकका शेयरधनी, ग्राहकवर्ग, नियामक निकायलगायत सरोकारवाला पक्षहरूमाझ नबिल बैंक सबल र सक्षम रहेको स्पष्ट पारेका छन् ।
विद्यमान परिस्थितिमा पनि आफ्नो सकारात्मक सोच एवं परिवर्तनलाई ग्रहण गर्न सक्ने क्षमताका माध्यमबाट उत्कृष्ट कार्यसम्पादन गर्न तयार रहेको उनको भनाइ छ ।
नबिल बैंकले ११९ वटा शाखा, १८५ वटा एटीएम र १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरूका साथमा देशव्यापी रूपमा र विश्वभर धेरै एजेन्टहरू मार्फत सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरूसँग सँगै अघि बढ्ने विश्वास बैंकले व्यक्त गरेको छ ।















प्रतिक्रिया