
-वि वि श्रेष्ठ
दमौली, २९ पुस । प्रकृतिको श्रोत साधनमाथि व्यास नगरपालिकाले टेण्डरमा आव्हान गरेभन्दा बढी शुल्क लिएको भन्दै व्यवसायीहरुले आन्दोलनको घोषणा गरेको छ ।
तनहुँ टयाक्टर व्यवसायी समिती तनहुँले व्यास नगरपालिकाले प्राकृतिक श्रोत साधनको करमा अत्याधिक राजश्व लिएर व्यवसायीको व्यवसाय धरापमा पारेको भन्दै आन्दोलनको घोषणा गरेको हो ।
नगरपालिकाले दुईपटक टेण्डर प्रक्रिया गर्दा प्रति घनफुट रु ७ कायम गरेको तर ठेक्का नलागेपछि नगरपालिका आफैले संचालन गरेको घाटमा व्यवसायीसँग प्रतिघन फुट रु १२ उठाएको भन्दै विरोध गरेको हो ।
सो विषयमा छलफल गर्दा कुनै निष्कर्ष ननिस्किएपछि व्यवसायीले यहि माघ २ गतेदेखि टयाक्टरको विरोध आन्दोलन शुरु गर्न लागको संस्थाको सचिव ज्ञानेन्द्र वस्यौलाले जानकारी दिए । नगरपालिकाले निर्धारण गरेको कर र उठाएको करमा धेरै असमानता रहेको छ ।
यो असमानताले उपभोक्ता र व्यवसायीले धान्न सक्दैन, मुल्य समायोजन गर्नका लागी नगरपालिकाले तत्परता नदेखाएको हुदाँ आन्दोलनको घोषणा गरेको हौ, सचिव ज्ञानेन्द्र वस्यौलाले जानकारी दिए ।
सरकोकारवाला समस्या समाधान गर्नका लागी तत्परता देखिएन, टार्ने र पेल्ने प्रवृत्ति देखियो यसैले गर्दा आन्दोलन गर्न वाध्य भएका हौ,संस्थाका उपाध्यक्ष शिव खत्रीले भने ।
यस वारेमा व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठसँग धारणा वुझदा नगरपालिकाको विशेष नगरसभाले पास गरेको विषयमा तत्काल निर्णय दिन नसकिने बताए ।
विशेष नगरसभावाट भएको निर्णय व्यक्तिले उल्टाउन सक्दैन, केहि समय पछि हुने नगरसभामा प्रस्ताव लैजाने भन्दा भन्दै व्यवसायीले तत्काल माग पुरा गर्न दवाव दिनुभयो, जुन स्वीकार्य हुन सक्दैन । व्यवसायीको माग नगरसभामा लगेर छलफल गर्नका लागी भन्यौ, तर उहाँहरु मान्नुभएन, प्रवक्ता श्रेष्ठले भने ।















प्रतिक्रिया