
काठमाडौं, २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशरे जबराले पृथ्वीनारायण शाहको सिंहदरबारको मुलगेटस्थित शालिकसम्म र्याली जान नदिएकोप्रति आक्रोश व्यक्त गरेका छन् ।
राष्ट्रनिर्माताका रुपमा चिनिने शाहप्रति श्रद्धा अर्पण गर्ने क्रममा क्रुर दमन गरेर सरकारले नागरिकको नैसर्गिक अधिकार र लोकतन्त्रविरोधी कार्य गरेको आरोप समेत उनले लगाएका छन् ।
‘सरकारको लोकतन्त्र विरोधी कार्यको राप्रपाले सडकमा विरोध गरिरहने छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका देनलाई राप्रपाले सदैव उच्च सम्मान गरिरहने छ । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसमा राष्ट्र निर्माताप्रति श्रद्धान्जली अर्पण गर्ने नागरिकहरुमाथि सरकारको क्रुर दमन अत्यन्त निन्दनीय छ, अन्यायपूर्ण छ । यसको म कडा शब्दामा भत्र्सना गर्दछु’, राप्रपा अध्यक्ष राणाले भने ।
भद्रकालीमा भेला भएर शान्तिपूर्ण रुपमा पृथ्वीनारायण शाहको सिंहदरबारस्थित सालिकमा माल्यार्पण गर्न अघि बढेका नागरिक समूहहरुलाई प्रहरीले रोक लगाएको थियो । सो क्रममा दुई पक्षबीच झडप समेत भएको थियो ।
‘राष्ट्रिय आवश्यकताबमोजिम नेपालमा हिन्दुराष्ट्र पुनःस्थापना भएरै छाड्छ । प्रजातन्त्रलाई सुढृद बनाउन, निष्पक्ष राष्ट्रप्रमुखको रुपमा, दलीय व्यवस्थाभन्दा माथि रहने पुरानो संस्था, राजसंस्था पुनःस्थापना हुने छ’, राणाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सिंहदरबारस्थित सालिकमा माल्यार्पण गरेपछि भनेका छन् ।
राप्रपाले २९९औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा अर्पण ब्याङ्केटमा जलपान कार्यक्रम आयोजना गरेको थियो ।
शालिक रहेको स्थानलाई यसअघि नै निषेधित क्षेत्र घोषणा गरिएकाले र्यालीलाई त्यहाँसम्म जान दिन नसकिएको त्यहाँ खटिएको प्रहरीले बताएको छ । शालिकसम्म जान शक्ति प्रदर्शनको रुपमा आएको ठूलो समूहलाई सामान्य ढंगबाट रोकिएको प्रहरीको भनाइ छ ।















प्रतिक्रिया