
काठमाडौं, २७ पुस । कोभिड–१९ को महामारीले व्यक्तिगत तथा संस्थागत निष्ठाको महत्वलाई अझै उजागर गरिदिएको छ ।
महामारीले निम्त्याएको चुनौतीका बावजुत पनि, हरेक वर्ष जस्तै, यस वर्ष पनि अकाउन्टविलिटी ल्याब नेपालले भर्चुअल माध्यमबाट ‘इन्टेग्रीटी आईकन–२०२०’ लाई सार्वजनिक गरेको छ ।
इन्टेग्रीटी आईकन सार्वजनिक सेवामा रहेर निष्ठापूर्वक जिम्मेवारी बहन गरी उदाहरण प्रस्तुत गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने र निष्ठापूर्ण समुदाय निर्माण गर्न थालिएको खुला अभियान हो । ७ वर्षअगाडि नेपालबाट शुरू भएको अभियान हालविश्वका १२ वटा मुलुकमा पुगिसकेको छ ।
यस वर्षका इन्टेग्रीटी आईकनहरूलाई देशभरीबाट प्राप्त भएका १ हजार ५०२ वटा मनोनयनबाट निर्णयक समितिले छनौट गरेका थिए । निर्णायक समितिमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सुर्यनाथ उपाध्याय, अधिकारसम्पन्न संघीय प्रशासनिक पुनःसंरचना सहजीकरण समितिका अध्यक्ष एवम् प्रशासनविद् काशिराज दाहाल, पूर्र्वसचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपाने र आइआइडीएस सेन्टर फर गभर्नेन्सका निर्देशक सुचिता प्याकुरेल छन् ।
इन्टेग्रीटी आइकन–२०२० का लागि छनोट भएका व्यक्तित्वको संक्षिप्त विवरण यसप्रकार छ–
आरती थारु, जनस्वास्थ्य निरीक्षक, नेपालगञ्ज स्वास्थ्यचौकी
प्युठान जस्तो विकट ठाउँमा कार्यरत हुँदा उनले सुत्केरी महिलाका लागि गरेको काम उल्लेखनीय छ । उनले त्यहाँ रहँदा, सुत्केरी सेवा सबैको पहुँचमा पुर्याउन बर्थिङ सेन्टर सबैको पायक पर्ने ठाउँमा राख्न अग्रणी भुमिका निर्वाह गरिन् । हाल नेपालगञ्जमा रहँदा कोभिड–१९ महामारीको समयमा उनले क्वारेन्टाईनमा काम गर्दा देखाएको सहास, आईसोलेशन र होम आईसोलेशनमा बस्ने संक्रमितलाई गरेको सेवाको सबैले प्रसंशा गरेका छन् ।
दिपक ज्ञवाली, महाशाखा प्रमुख, उद्योग, पर्यटन, बन तथावातावरण मन्त्रालय, लुम्विनीप्रदेश, बुटवल
दिपक ज्ञवालीले बनलाई आयस्रोतको माध्यम बनाउन सकिन्छ, अतिक्रमित बन राज्यको नाममा फिर्ता गर्न जोखिमको सामना गर्न सक्नुपर्दछ र समुदाय र विशेष गरेर महिला समूह परिचालन गरेर तस्करीलाई निरुत्साहन गर्न सकिन्छ भनेर उदाहरण प्रस्तुत गरेका छन् । टीमवर्कमा विश्वास गर्ने र जिम्मेवारी बाँडफाँड गरेर काम गर्ने भएकाले उनी कार्यरत कार्यालयले उत्कृष्ट कार्यसम्पादन गर्दै आईरहेको छ ।
हेमबहादुर आले मगर, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र, ओखलढुंगा
हेम बहादुर आले मगरले कृषकलाई दीगो व्यावसायिक खेती गर्ने तालिम दिन फार्म स्कुल सञ्चालनमा ल्याए । त्यसबाट कृषकले खेती गर्ने तरिका र प्रविधिको उचित प्रयोग गरेर आयआर्जन गर्नसके । त्यसै गरेर, कृषकको समस्या बुझेर समाधान गर्न निम्ति अगुवा कृषक गोष्ठिको आयोजना गरे । वास्तविक कृषकको पहिचान गरेर प्रभावकारी स्रोत परिचालन गर्नमा पनि उल्लेख्य काम गरे ।
मञ्जु महत, अधिकृत, महिला, बालबालिकातथा ज्येष्ठ नागरिक शाखा, मंगलसेन नगरपालिका, अछाम
मञ्जु महतले अछाममा घरेलु हिँसा र छाउपडी प्रथा कम गर्न र बालबालिकाको नेतृत्व विकास गर्नमा ठूलो योगदान गरेकी छिन् । यदि कुनै महिलाले घरेलु हिंसाको सामना गरिन् भने सबैले पहिलो पटक सम्झिने नाम हो मञ्जु महत । पहिला वस्तुस्थिति बुझ्ने, व्यावहारिक कार्ययोजना बनाउने र त्यसको प्रभावकारी कार्यान्वयन गर्नु उनको कार्यशैली हो ।
https://m.youtube.com/watch?v=0nDLYG06BG0&feature=youtu.be
डा. नविनबन्धु पहाडी, शिक्षक, नीलकण्ठ उच्च माध्यामिक विद्यालय, धादिङ
पहाडीले धादिङमा दलित र सिमान्तकृत समुदायका बालबालिकाको पढ्न पाउने अधिकारको सुनिश्चितता गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रि व्यक्ति तथा संस्थासँगको सहकार्यमा विद्यालय स्थापना गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । त्यसै गरेर आमाबाबु गुमाएका बालबालिका अभावका कारण पढाईबाट बञ्चित नहोउन भन्नका लागि बाल अनाथाश्रम पनि सञ्चालन गरेका छन् ।
यि आईकन र उनीहरूले गरेका कामलाई आयोजकले सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र इन्स्टाग्रामको माध्यमबाट आउँदो एक हप्ता भरी प्रस्तुत गर्ने बताएको छ ।
उल्लेखित पात्रहरूलाई प्रोत्साहन गर्न सर्वसाधारणकोे सहभागिताका लागि पनि आयोजकले अनुरोध गरेको छ । आगामी माघ ९ गते भर्चुअल माध्यमबाट सम्मान समारोह आयोजना गर्ने बताइएको छ ।















प्रतिक्रिया