
काठमाडौँ, २६ पुस । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति पत्र प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र “ख”वर्गको इजाजत पत्र प्राप्त सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडबीच भुक्तानी र फछ्र्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता भएको छ ।
नेपाल राष्ट्र बैंकको नीति र निर्देशनअनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढावा दिने प्रमुख उद्देश्यका साथ क्रियाशील स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र विगत लामो समयदेखि सर्वसाधारणलाई बैंकिङ्ग सेवा पुर्याउँदै आएको मूलुकको बैकिङ्ग क्षेत्रमा सुपरिचित सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडको यस सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्न जाने आशा लिईएको छ ।
धनकुटामा मुख्य कार्यालय र विराटनगरमा कर्पोरेट अफिस रहेको सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडले प्रदेश १ का विभिन्न ७ जिल्लामा आफ्ना शाखा सञ्जालमार्फत सर्वसाधारणलाई विविध बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको छ ।
स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडसँगको सहकार्यबाट सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने छ ।
एससीटी सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारत भित्र एटीएम, पीओएस, इकमर्स जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुनेछ ।
पुस २६ गते स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडको मुख्य कार्यालय, बालुवाटार, काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत दिपेश मास्के र सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नविन सुबेदीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।















प्रतिक्रिया