१ कार्तिक २०८३, आइतबार

छिमेकी देशका खोपमा नेपालको भर

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । दुई छिमेकी देश भारत र चीनमा उत्पादन भएका कोभिड–१९ विरुद्धका खोप नेपालमा छिटो ल्याउन सकिने सुझाव विज्ञले दिएका छन् । चीनको खोपले अन्तर्राष्ट्रियस्तरमा अन्तिम मान्यता पाइनसकेकाले भारतमा बनेका खोपको भर पर्नुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ ।

‘कोभिडविरुद्धको खोपका लागि हामीले भरोसा गर्ने एउटै सम्भावना भारतसँग छ,’ वरिष्ठ जनस्वास्थ्यविद् डा.शरद वन्तले भने, ‘सही तरिकाले प्रयास गरिए हामीलाई दुई–तीन करोड खोप दिन भारतलाई अप्ठ्यारो पर्दैन । दिल्लीका लागि जति पनि हामीलाई खोप चाहिँदैन ।’ उनले विश्व बजारमा आएसँगै तुरुन्त खोप ल्याउन सहज नभएको उल्लेख गर्दै कोभाक्स सुविधाअन्तर्गतको खोप आउन पनि त्यति सजिलो नभएको बताए । मुलुकमा तत्काल भरपर्दो गुणस्तरीय खोप भित्र्याउन भारतको भर पर्ने अवस्था रहेको कोभिड खोप सल्लाहकार समितिका संयोजक तथा बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा.श्यामराज उप्रेतीले बताए ।

मुलुकमा तुरुन्त खोप ल्याउन भारत सरकार र त्यहाँ अक्सफोर्ड–अस्ट्राजेनिकाको खोप कोभिसिल्डको नाममा बनाएको सिरम इन्स्टिच्युट अफ इन्डियासँग कुराकानी गर्नुपर्ने उनले बताए । ‘चीनको खोपको डाटा बाहिर निस्केको छैन, त्यसको इन्डिपेन्डेन्ट रिभ्यु नभएकाले हाललाई दुवै छिमेकीमध्ये भारतसँगै बढी आस गर्ने अवस्था छ,’ उनले भने ।

विज्ञहरूले नेपालका लागि छिटो खोप ल्याउन भारत र चीनसँग गम्भीर कुराकानीका साथै तयारी थाल्न सरकारलाई सुझाएका छन् । विश्वको सबैभन्दा ठूलो खोप बनाउने कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले विश्व स्वास्थ्य संगठनद्वारा मान्यताप्राप्त विश्वको सबैभन्दा सस्तो खोप १ सय ७० मुलुकमा आपूर्ति गर्दै आएको छ । कोभिसिल्ड खोप एउटा भाइरसले बनेको छ, जो एक सामान्य एडेनो भाइरस (सामान्य रुघाखोकी) को कमजोर संस्करण हो । यसलाई मान्छेमा विकसित हुन नदिन आनुवांशिक रूपले परिवर्तन गरिएको छ ।

दक्षिण अफ्रिकालाई यही महिना भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले कोभिड खोपको १० लाख मात्रा दिने भएको छ । थप पाँच लाख मात्रा खोप फेब्रुअरीमा प्राप्त हुने त्यहाँका स्वास्थ्यमन्त्री जवेली मखिजेले बिहीबार त्यहाँको संसदीय समितिलाई सम्बोधन गर्दै बताएका थिए । उक्त खोप अग्रमोर्चामा कार्यरत स्वास्थ्यकर्मीलाई दिइनेछ । भारतले दक्षिण एसियाली मुलुकलाई खोप दिने कुरा भन्नु उनीहरूको सदाशयता भए पनि नेपालका तर्फबाट यसका लागि व्यापक पहल हुनुपर्ने औंल्याउँदै डा.वन्तले भने, ‘हाम्रो आवश्यकताअनुसार सबै खोप भारतले निःशुल्क नै दिन्छ भन्ने छैन । हामीले न्यूनतम शुल्क तिर्नुपरे पनि त्यो अत्यन्त धेरै हुने कुरा बिर्सनुहुन्न ।’

भारत सरकारलाई आग्रह गरेर नेपालको ४–५ प्रतिशत जनसंख्यालाई पुग्ने खोप सहुलियत मूल्यमा खरिद गर्नु बुद्घिमानी हुने जनाउँदै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा.बाबुराम मरासिनीले भने, ‘भारत सरकारलाई सिरमको कोभिसिल्ड सहज रूपमा र सुपथ मूल्यमा उपलब्धताका लागि अनुरोध गर्नुपर्छ । यसका लागि प्रि–अर्डर गर्नु अपरिहार्य हुन्छ ।’ कोभिड–१९ विरुद्घको खोप सम्बन्धित द्रुत कार्ययोजना तयारी समितिका एक पदाधिकारीले भने, ‘भविष्यमा अन्य विकल्प आउलान् तर अहिले हाम्रो ‘क्राइटेरिया’ अनुसारको तत्काल कोभिडको खोप पाउन भारतबाहेक अन्य विकल्प म देख्दिनँ ।’

उनले निजी कम्पनीसँग संवाद गर्दा ‘जी टू जी’ त्यति प्रभावकारी नहुने भएकाले निकट सम्बन्ध भएको देशको हैसियतले खोपको प्रि–बुकिङ गरेर आवश्यक मात्रा सुनिश्चित गर्नुपर्ने बताए । हाल भारतले कोभिसिल्ड र कोभ्याक्सिन गरी दुईवटा खोप आपत्कालीन उपयोगका लागि मान्यता दिएको छ । नेपाली विज्ञले भने अक्सफोर्डद्वारा निर्मित खोप कोभिसिल्डमा बढी चासो देखाइरहेका छन् । अतुल मिश्रले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।