धनगढी, २५ पुस । प्रधानमन्त्री केपी ओलीले नेकपा छोरीबुहारी र भाइभतिजाको पार्टी नभएको बताएका छन्। आफू अध्यक्ष रहेको नेकपाको सुदूरपश्चिम प्रदेश कमिटीले शुक्रबार धनगढीमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो पार्टी जनताको भएको बताएका हुन्।
नेकपाको अर्को खेमाका अध्यक्ष पुष्पकमल दाहाललाई लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले भने, ‘जसलाई छोरीहरूको मतलब छ, जसलाई बुहारीको चिन्ता छ, जसलाई आफन्तको मतलब छ, तिनको पार्टी हो कि तपाईंहरूको पार्टी हो ? यो पार्टी सम्धीवाला पार्टी होइन। यो पार्टी छोरीबुहारीवाला पार्टी होइन। यो पार्टी भाइभतिजावाला पार्टी होइन। यो पार्टी तपाईंहरूको पार्टी हो। देश बनाउने पार्टी हो। जनताको पार्टी हो। त्यसकारण उहाँहरूले गफ नदिए हुन्छ।’
ओलीले दाहाल र माधवकुमार नेपालको मन परिवर्तन हुनुपर्ने बताए। ‘उहाँहरूको मन परिवर्तन हुनुप¥यो। उहाँहरूले आँखा आफन्ततिर होइन, देशतिर लाउनुस्’, उनले भने, ‘उहाँहरूका आँखा कमाउनेतिर होइन, देश विकासतिर लाउनुस्। अनि पो उहाँहरू गिन्तीमा पर्नुहुन्छ।’
उनले आफूले कुनै पनि आफन्तलाई आफन्त भएकै कारण टपक्क टिपेको उदाहरण देखाउन चुनौती दिए। ‘मेरा पनि आफन्त छन्। भाइ, भतिजा, छोरी, बुहारी होलान् तर एक जना देखाइदिनुस्’, उनले भने, ‘त्यसैले म भन्छु मेरोजस्तै जनताका सामुन्ने उभिएर यस्तो चुनौती सक्ने हुनुस्।’
उनले दाहाल–नेपाल समूह चोइटिएर गएको बताए। ‘पिलो निचोरिएर गए शरीरको वजन घट्दैन। उहाँहरू जानु भनेको पिलो निचोरिएको हो’, उनले भने, ‘नुहाउँदा पनि त दुई–चार कपाल झर्छन्। त्यसले शरीरलाई कुनै फरक पार्दैन।’
दाहाल–नेपाल समूहले आफूसँग बहुमत रहेको दाबी गरिरहेका बेला ओलीले भने, ‘३ करोडमा कति जना गए रे ? २६४ जना, तीन करोडबाट २६४ जना जाँदैमा के फरक पर्छ ?’, उनले भने, ‘सक्नुहुन्छ भने अबको चुनावमा दुई अंकको सिट सितेर देखाउनुस्। मैले चुनौती दिँदै आएको छु, ताजा जनादेशमा तपाईंको हैसियत के छ ? अनि थाहा हुन्छ।’
उनले काम लाग्छ कि भनेर दाहाललाई पार्टीमा ल्याएको तर डल्लाका डल्ला साबुन सकिँदा र ड्रमका ड्रम पानी सकिँदा पनि काम नलागेको बताए। ‘मैले प्रचण्ड काम लाग्लान् भनेर पार्टीमा ल्याएँ तर के काम लाग्नु !’, उनले भने, ‘अरू कसैको इसारामा लाग्नेहरूले देशका लागि काम गर्न सक्दैनन्।’
उनले भावुक हुँदै भने, ‘जब म उपचारका लागि थाइल्यान्ड गएको थिएँ, त्यतिबेला धेरैले भने अब बाकसमा आउँछ तर म बाँचेर आएँ। दोस्रो पटक मैले काठमाडौंमै उपचार गराएँ। त्यतिबेला पनि हप्ता–१० दिनमा मरिहाल्छ भन्नेहरू धेरै थिए। तर, मलाई यो जीवन प्राप्त भएको छ, यो नाफाको जीवन हो। मेरो यो बाँकी जीवन पुरै देश र जनताका लागि हो।’
उनले दाहाल–नेपाल समूहका नेता भीम रावललाई आफूले राजनीति सिकाएको बताए। ‘म जलेमा थिएँ, प्रहरीले एउटा अछामको केटो सडकबाट टिपेर जेलमा ल्यायो’, उनले भने, ‘र, अनि मैले राजनीति सिकाएँ। अहिले उनकै ठूलो चुरीफुरी छ। भन्छन् नि, नानाभन्दा नानी ठूलो !’ शिवराज भट्टले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।















प्रतिक्रिया