३ कार्तिक २०८३, मंगलबार

प्रचण्ड–माधव समूहको योजना असफल पार्न के गर्दैछन् प्रधानमन्त्री ओली ?

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । मुलुकमा सामान्य कामहरूमा प्रभावकारी उपस्थिति जनाउन नसकेको गुनासो खेप्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार आफ्नै दलभित्रबाट खडा गरिएको संकट खेपिरहेको छ ।

सरकारले गरेका हरेक काममा असन्तुष्टि व्यक्त गर्दै आएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनालमा प्रधानमन्त्री, राष्ट्रपति र पार्टी अध्यक्ष बन्ने आकांक्षा तीव्र बनेपछि नेकपा अहिले फुटको औपचारिक घोषणाको पर्खाइमा छ ।

नेताहरूमा पदको आकांक्षा बढेसँगै उनीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिको समेत प्रयोग गरेर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता गरेपछि प्रधानमन्त्रीले संसद नै विघटन गरेर गलत मनसायका साथ सत्तामा पुग्ने प्रचण्ड, माधव र झलनाथको इच्छाको ढोका बन्द गरिदिएका छन् ।

सामान्य कामभन्दा ऐतिहासिक महत्वको काम गर्ने सोचका साथ अगाडि बढेका प्रधानमन्त्री केपी शर्मा ओलीले जब वर्षौंदेखि गुमेको नेपाली भूमिलाई समेटेर नयाँ नक्सा जारी गर्दै भारतसामू आफू र आफ्नो देशको स्वाभिमानलाई उच्च बनाउने कदम चाले त्यसैबेलादेखि आफूविरुद्ध सम्पूर्ण शक्ति एकतृत भएर लागेको आरोप ओलीको छ ।

ऐतिहासिक कामहरुबाट लोकप्रियता हासिल गर्दै अगाडि बढेकाले आफ्नो लोकप्रियताको ग्राफ बढ्दै गएपछि पार्टी भित्रकै नेताहरुमा बदला र कुण्ठाको भावना वृद्धि हुँदै गएको ओलीको सार्वजनिक मञ्चहरुमै बताउने गरेका छन् ।

ओलीलाई हटाएर सत्तामा पुग्ने अन्तिम विकल्प पनि असफल भएपछि ‘संसद विघटनविरुद्धको नारा दिएर’ अहिले प्रचण्ड, माधव र झलनाथको समूह सडक आन्दोलनमा उत्रिएको छ भने केपी ओली पार्टीसहित सत्ताको नेतृत्व गरिरहेका छन् । यद्यपि पार्टीको आधिकारिकता विवाद भने टुंगो लागिसकेको छैन ।

औपचारिक घोषणाविनै पार्टी विभाजनको अभ्यासमा लागेका नेकपाका दुवै समूहले अहिले एकले अर्को समूहका नेताहरुलाई कारवाहीको ‘कथित अभियान’ चलाएका छन् । त्यतिमात्र होइन, प्रदेशका सरकारहरुमा समेत आ–आफ्नो शक्ति देखाउने मेसोमा जुटिरहेका नेताहरु स्वयम् भने आफ्नो शक्ति के हो र कति हो ? भन्नेमा अनविज्ञझैं देखिन्छन् ।

यसैबीच प्रायः सबै प्रदेश सरकारहरुमा केपी ओली पक्ष कमजोर रहेको चर्चा भइरहेको छ । तर, राजनीतिका चतुर खेलाडी मानिने प्रधानमन्त्री ओलीले आफूविरुद्ध लागेर सरकारका संरचनाहरु तहसनहस बनाउन लागि परेका प्रचण्ड–माधव समूहको योजना असफल बनाउन भित्रभित्रै विभिन्न योजनाहरु बनाइरहेका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले केन्द्रदेखि प्रदेशसम्म आफ्नो शक्ति बलियो बनाउन प्रतिपक्ष दलका नेतालाई साथमा लिने योजना बनाइरहेका छन् । जसका कारण प्रचण्ड–माधव समूहले देखेको प्रदेश सरकारको नेतृत्वका सपनाहरु तुहिने सम्भावना बढेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच केन्द्रदेखि प्रदेशसम्म समिकरणको तयारीका लागि बारम्बार भेटवार्ता भइरहेको स्रोतको दाबी छ । दुई नेताबीच केन्द्र सरकारले गर्ने नियुक्तिदेखि प्रदेश सरकारमा समेत समिकरण बनाएर जाने गरी छलफल भइरहेको बताइन्छन् ।

केही दिनयता ओली र देउवाबीच गोप्य रुपमा नियमित भेटवार्ता भइरहेको छ । नेपाल कम्युनिस्ट पार्टी विभाजनको अभ्यासमा लागेसँगै प्रदेश १ र बागमती प्रदेशमा अविश्वासको प्रस्ताव समेत दर्ता भएको छ ।

त्यसलाई असफल बनाउन ओलीले देउवासँग सहयोग मागेको बताइएको छ । दुवै नेताबीच राजनीतिक भागवण्डाबाट समिकरणको तयारी भएको छ । ओलीले खोजेजस्तो साथ देउवाले दिएर आफ्नो पार्टीलाई मनाउन सके भने ओली प्रचण्ड–माधव समूहभन्दा बलियो हुने स्रोत बताउँछ ।

ओली–देउवाबीचको भेटमा अविश्वासको प्रस्ताव आएका प्रदेशहरुमा नेकपाको ओली समूहले कांग्रेससँग मिलेर सत्ता साझेदारीको प्रयास भइरहेको छ । कांग्रेसको साथ भए प्रदेश १ मा शेरधन राई र बागमती प्रदेशमा डोरमणि पौडेल सुरक्षित हुने बुझाइ पनि स्रोतको छ । तर, कांग्रेसले ओलीलाई साथ नदिएको खण्डमा दर्ता भएको अविश्वासको प्रस्ताव सहजै पारित हुने सम्भावना छ ।

त्यसैगरी केन्द्रमा पनि ओली र देउवाबीच भित्री सहमति बनेको दाबी गरिएको छ । ‘त्यसैले त संवैधानिक परिषद्ले संवैधानिक निकायमा गरेका नियुक्तिहरुमा ओली र देउवाबीच भागवण्डा भएको हो’, स्रोतले दाबी गर्यो ।

देउवा निकटस्थहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायत विभिन्न निकायमा नियुक्तिको सिफारिशमा पर्ने अवसर समेत पाइसकेका छन् ।

नेकपामा विभाजनको अभ्यास शुरू भएसँगै कांग्रेस पनि दुई धारमा विभाजित छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रचण्ड–माधवको समूहसँगै आन्दोलनमा जाने र प्राप्त उपलब्धी (संसद पुनःस्र्थापना’मार्फत सत्ता साझेदार गर्ने मुडमा देखिएका छन् भने पार्टी सभापति देउवा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गरेर सत्तामा आफ्नो उपस्थिति गराउने मुडमा छन् ।

तर पार्टीको तल्लो तहले भने कांग्रेसले अहिले सत्ताको कुनै लालच राख्न नहुने दबाब सृजना गरिरहेका छन् । प्रतिनिधिसभा विघटनको विरुद्धमा लाग्ने वा निर्वाचनको तयारीमा लाग्ने भन्ने विषयमा अहिलेसम्म कांग्रेस स्पष्ट भइसकेको छैन ।

यद्यपि, तत्कालका लागि भने केही विरोध प्रदर्शनका कार्यक्रमहरु घोषणा गरेर उसले आफ्नो राजनीतिक धर्म निर्वाह गर्दै आएको छ ।