३ कार्तिक २०८३, मंगलबार

प्रभावकारी ढंगले काम गर्न विज्ञापन बोर्डलाई मन्त्री गुरुङको निर्देशन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रभावकारी ढंगले काम गर्न विज्ञापन बोर्डलाई निर्देशन दिएका छन् ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले विज्ञापनसम्बन्धी अर्बौंको बजेट सदुपयोग हुने गरी प्रभावकारी ढंगले काम गर्न बोर्डलाई निर्देशन दिएका हुन् । मंगलबार सिंहदरबारमा आयोजित बोर्डको चौथो पूूर्ण बैठकलाई सम्बोधन गर्दै उनले बोर्डको कामलाई प्रभावकारी बनाउन विज्ञहरूसँग आवश्यक छलफल गरी रणनीतिक योजना बनाउन ढिलाई गर्न नहुनेतर्फ पनि सचेत गराए छन् ।

‘विज्ञापन बोर्डलाई प्रभावकारी बनाउन सरोकारवालाहरूसँग थप आवश्यक सुझाव लिन ढिलाई गर्न हुन्न’, मन्त्री गुरुङले भने, ‘त्यसैले विज्ञहरूसँग, सरोकारवाला निकायसँग परामर्श गरेर बोर्डको रणनीतिक योजना तत्काल बनाऔं ।’

मन्त्रीगुरुङले बोर्डको औचित्य पुष्टि हुने गरी काम गर्न आग्रह गर्दै गठित कार्यदललाई पुस मसान्तभित्र कार्ययोजना बनाएर आफ्नो कामलाई गति दिन पनि निर्देशन दिएका छन् । बोर्ड बैठकले विज्ञापनसम्बन्धी राष्ट्रिय नीति बनाउने निर्णय गरेको छ ।

राष्ट्रिय नीति बनाउँदा सरोकारवाला निकायसँग बृहत छलफल गर्न बोर्डलाई मन्त्री गुरुङले निर्देशन दिएका छन् ।

सरकारी विज्ञापन व्यवस्थापन गर्ने उद्देश्यका साथ मन्त्री गुरुङ आएपछि पहिलो पटक विज्ञापन बोर्ड गठन गरिएको हो । मन्त्री गुरुङले बोर्डले ऐन, नियम र कानूनको परिधिभित्र रहेर जिम्मेवार ढंगले काम गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।

बैठकमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालको पनि उपस्थिति थियो ।