
काठमाडौं, २१ पुस । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले माघ २ गतेदेखि सर्वसाधारणका लागि ७ करोड ५८ लाख कित्ता प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।
बैंकले सर्वसाधारण समूहतर्फको ८ करोड कित्ता आइपीओ छिटोमा माघ ६ गतेसम्म निष्काशन गर्ने छ । यदि पहिलो चरणमा विक्री नभए दोस्रो चरणमा माघ १६ गतेसम्म निष्काशन गर्ने तयारी गरेको छ ।
बैंकले ८ करोड कित्तामध्ये कर्मचारीका लागि एक लाख ६० हजार कित्ता सुरक्षित गरेको छ । त्यस्तै म्युचुअल फण्डहरुलाई ५ प्रतिशत अर्थात् ४० लाख कित्ता बिक्री गरिसकेको छ । कर्मचारी र म्युचुअल फण्डलाई बिक्री गरेर बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि विक्री गर्ने भएको हो ।
बैंकले नेपालकै इतिहासमा सर्वाधिक प्राथमिक शेयर निष्काशन गर्ने तयारी गरेको हो । यसअघि अपर तामाकोशीले सर्वसाधारणका लागि सर्वाधिक प्राथमिक शेयर जारी गरेको थियो । हाल बैंकको संस्थापकहरुको शेयर पुँजी १२ अर्ब रुपैयाँ रहेको छ ।
प्राथमिक शेयर निष्काशनपछि बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्ने छ ।
अहिलेसम्मको शेयर संचरना अनुसार नेपाल सरकारको शेयर स्वामित्व १६ दशमलव ६७ प्रतिशत रहेको छ । प्राथमिक शेयर निष्काशनपछि नेपाल सरकारको स्वामित्व १० प्रतिशतमा खुम्चिने छ ।
बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआईविएल एस क्यापिटल रहेको छ ।















प्रतिक्रिया