घोराही, २१ पुस । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाले साथ दिएपछि नेपाल उद्योग वाणिज्य संघ, दाङको अध्यक्षमा नेपाली कांग्रेस निकटका टंकसिंह बुढाथोकी शानदार मतका साथ निर्वाचित भएका छन् ।
घोराहीमा सोमबार भएको मतदानपछिको परिणामअनुसार बुढाथोकीले २ सय ४४ मतको अन्तरबाट निर्वाचित भएका हुन् । बुढाथोकीले १ हजार २ सय ५७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
बुढाथोकीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका बसन्त जोशीले १ हजार १३ मतसहित पराजित भएका छन् ।
संघको कोषाध्यक्षमा सुशील पोखरेल निर्वाचित भएका छन् । पोखरेलले १ हजार २ सय ६३ मत ल्याएका थिए ।
पोखरेलसँग धनपति शर्मा पराजित भएका छन् । शर्माले ९ सय ८५ मत ल्याएका छन् ।
संघको अध्यक्ष र कोषाध्यक्षमा सहमति हुन नसकेपछि निर्वाचन भएको थियो । बाँकी पदहरूमा सहमति भइसकेको छ । संघको नयाँ नेतृत्वका लागि प्रत्येक दुई वर्षमा निर्वाचन हुनेगर्छ । संघको नेतृत्वमा २१ सदस्यीय रहने व्यवस्था छ ।
मतदानमा ५६ दशमलव १० प्रतिशत मतदाताले भाग लिएको निर्वाचन अधिकृत शिवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।
संघको अध्यक्षमा निर्वाचित बुढाथोकी नेपाली कांग्रेस समर्थक हुन् । कोषाध्यक्षमा निर्वाचित पोखरेल पनि कांग्रेस समर्थक हुन् ।
अध्यक्ष र कोषाध्यक्षमा प्रतिस्पर्धा गरेर पराजित भएका जोशी र शर्मा पनि नेपाली कांग्रेस समर्थक हुन् । जोशी र शर्माले बागी बनेर उम्मेदवारी दिएका थिए । जोशी र शर्मालाई नेपाली कांग्रेस दाङले साधारण सदस्यता समेत नरहनेगरि कारबाही गर्दै पार्टी निष्काशन गरेको छ ।
संघमा कुल ४ हजार ३ सय ३८ मतदाता रहेका छन् । २ हजार ४ सय ३२ मत मात्रै खसेको थियो ।
कांग्रेस समर्थक अध्यक्ष बुढाथोकी र कोषाध्यक्ष पोखरेलललाई ओली नेतृत्वको नेकपा, राप्रपासहितका सबै दलहरूको समर्थन रहेको थियो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाले कांग्रेसकै बागी जोशी र शर्मालाई समर्थन गरेका थिए ।
मतगणना हुँदा शुरुमा प्रचण्ड–माधव समूहका प्रतिनिधि केही समय बसेका थिए । जोशी र शर्मा पराजित हुने संकेत देखिएपछि मतगणनास्थल छाडेर हिँडेको प्रत्यक्षदर्शी एकजनाले जानकारी दिए । ओली समूह भने अन्तिम समयसम्म बसेको थियो ।
नेकपा विभाजन भएपछि कांग्रेस र ओली नेतृत्वको नेकपाबीच पहिलो पटक मिलेर निर्वाचनमा चुनावमा प्रतिस्पर्धा गरेर विरोधी समूहलाई ठेगान लगाएका छन् ।
यसअघि वरिष्ठ उपाध्यक्षमा नरेश कार्की, उद्योग उपाध्यक्षमा अनिल आचार्य, वाणिज्य उपाध्यक्षमा रामप्रसाद पोखरेल, महासचिवमा महेन्द्र बुढाथोकी, सचिवमा नरेश निखिल श्रेष्ठ, सह–कोषाध्यक्षमा राजभक्त राना लगायतका पदाधिकारी सर्वसम्मत भइसकेका छन् ।
त्यसैगरी, उद्योग सदस्यमा भरतराज रेग्मी, महिला सदस्यमा देवकला बस्नेत, सदस्यहरूमा जुद्धबहादुर घर्ती, जगत आचार्य, विकास वली, एकनारायण पौडेल, विष्णुप्रसाद धिताल, लीलाराम खड्का, विनोदप्रसाद पाण्डे र विष्णुप्रसाद गौतम सर्वसहमतिमा चयन भएका छन् ।
बस्तुगत सदस्यमा माधव खनाल र एशोसिएट सदस्यमा ज्ञानबहादुर फौदार चयन भएका दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिएका छन् ।
















प्रतिक्रिया