३ कार्तिक २०८३, मंगलबार

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध नारा लगाउनेविरुद्ध कानूनी प्रकृयामा जाने अनेमसंघको घोषणा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं, १७ पुस । अखिल नेपाल महिला संघ (अनेमसंघ) राष्ट्रपतिविरुद्ध व्यक्त भएका अराजक अभिव्यक्तिलाई लिएर कानूनी कारबाहीमा जाने भएको छ ।

अनेमसंघले शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो । अनेमसंघका सह–संयोजक सिता पौडेलले राष्ट्रपतिविरुद्ध सडकमा लागेका नारा अशोभनीय मात्रै नभएर महिलाको इज्जतमाथि नै धावा बोलिएको बताइन् ।

उनले यस्तो नारा लगाउने ब्यक्तिको पहिचान गरि कानूनी दायरामा ल्याउन गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, सरकारको ध्यानाकर्षण गराउने, साइवर क्राइमको मुद्दा लिएर प्रहरीकहाँ जाने योजना रहेको बताइन् ।

उनले सार्वजानिक कार्यक्रम, भेला, जुलुस, नारा एवं विद्युतीय सार्वजानिक माध्यमहरुद्धारा सम्माननीय राष्ट्रपति र सम्माननीय प्रधानमन्त्रीको विरुद्धमा अत्यन्त लज्जास्पद, अमानवीय, अराजक र निकृष्ट ढंगले आइहेका अभिव्यक्ति तत्काल रोक्न समेत माग गरिन् ।

सह–संयोजक पौडेलले अपमानजनक, अमर्यादित, असभ्य र कानूनले बन्देज गरेका भाषाको प्रयोग गरी दिईएका अभिव्यक्तिप्रति निन्दा तथा भत्सर्ना गर्दै यस्तो अभिव्यक्ति दिनेलाई तत्काल कानूनी दायरामा ल्याउन अनेमसंघले पहल सुरु गरेको बताइन् ।

पत्रकार सम्मेलनमा अनेसंघका पदाधिकारीहरु गोमा देवकोटा, सुजिता शाक्य, राधा ज्ञवाली लगायतले बोलेका थिए । उक्त पत्रकार सम्मेलनमा अनेमसंघका आगामी कार्यक्रमहरु समेत सार्वजनिक गरिएको छ । सचिवालय बैठकको निर्णयानुसार अनेमसंघले यही माघ ३ र ४ गते केन्द्रीय समिति बैठक आयोजना गर्ने छ र मातहतका समितिहरुलाई बिस्तार गरि परिचालन गरिने बताइएको छ ।

संसद विघटनपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अनौपचारिक रुपमा दुई भागका विभाजन भएको छ । ओलीको कदम गैरसंवैधानिक भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको समूह आन्दोलनमा उत्रिएको छ ।

आन्दोलनमा दुई नेताले अगुवाई गरेको र्यालीमा राष्ट्रपति र प्रधानमन्त्रीका बारेमा अत्यत्न अपमानजनक नारा लगाइएको थियो । त्यसको सवत्र विरोध भएको छ ।

पत्रकार सम्मेलनमा नेता शाक्यले आन्दोलनको नेतृत्व गर्ने नेताहरुले त्यसको जिम्मेवारी लिनुपर्ने बताइन् ।