३ कार्तिक २०८३, मंगलबार

कक्षाकोठाको अभावले पढाइमा समस्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, १४ चैत । कपिलवस्तुको महाराजगन्ज–१ स्थित नागेश्वर प्राविमा कक्षाकोठा अभाव हुँदा बालबालिकाको पढाइमा समस्या आइरहेको छ ।

कक्षा कोठाको अभावले गर्दा कक्षा २ र ३ का बालबालिकालाई एउटै कक्षा कोठमा पढाइने गरिएको छ ।

यस्तै कक्षा ४ र विद्यालयको कार्यालय एउटै स्थानमा रहेको छ । जसले गर्दा पठनपाठनमा समस्या आएको जनाइएको छ ।

कपिलवस्तुकै सबैभन्दा बढी दलित समुदायका बालबालिका पढ्ने गरेको सो प्राविको स्तरोन्नति तथा भवन निर्माणप्रति गाविस तथा सम्बन्धित शिक्षा कार्यालयको समेत कुनै चासो रहेको छैन । विद्यालयमा रहेका ८१ जना विद्यार्थीमध्ये ५२ जना दलित छन् भने १६ जना मुस्लिम बालबालिका छन् ।

सो क्षेत्रका दलित तथा विपन्न समुदायका बालबालिका विद्यालयमा आउने गरेको प्रअ सफि मोहम्मद धुनियाले बताउनुभयो ।

विद्यालयमा खाजा कार्यक्रम सञ्चालन भएकाले पनि विपन्न तथा दलित विद्यार्थी बढी आर्कषित भएको उहाँले बताउनुभयो ।

कक्षाकोठाको अभावले पठनपाठनमा समस्या भएको प्रअ धुनियाले बताउनुभयो ।

नयाँ भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयमा बजेट माग गर्दा जनसहभागितामा आधारित पूर्वाधार बजेट दिने गरेको र आफूहरुसँग स्रोत नहुँदा समस्या आइरहेको विद्यालयका अध्यक्ष मुबारक अली धुनियाले बताउनुभयो ।

स्रोत नहँदा साझेदारी बजेट माग नगरिएको धुनियाले बताउनुभयो । सो विद्यालयमा चार वटा कक्षाकोठा मात्र छन् ।

कक्षा ३ मा अध्ययनरत छात्रा महिमा कोरीले कक्षा २ सँग एउटै कोठामा बसेर पढ्दा अप्ठ्यारो भएको र दुवै कक्षाका विद्यार्थी एउटैमा बस्दा सरले पनि सबैलाई एउटै विषय पढाउने गरेको बताइन् ।

यस्तै कक्षा ४ मा अध्ययनरत दिनेश मालीले विद्यालय कार्यालय र खाजा पकाउने स्थानले गर्दा पढाइमा बाधा उत्पन्न हुने गरेको बताए ।