
काठमाडौं, १३ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आधुनिक युग सुहाउँदो सञ्चार क्षेत्रको विकासमा लाग्न पत्रकारहरुलाई आग्रह गरेका छन् ।
नेवाः पत्रकार राष्ट्रिय दबूले सोमबार ललितपुरमा आयोजना गरेको नेपाल पत्रकार महासंघका संस्थापक सत्यनारायण बहादुर श्रेष्ठको १०५औं स्मृति सभालाई सम्बोधन गर्दै मन्त्री गुरुङले सो कुरा बताएका हुन् । सत्यनारायण बहादुर श्रेष्ठले नेपालको पत्रकारिता क्षेत्रमा पुुर्याएको योगदानको मन्त्री गुरुङले स्मरण गर्दै प्रशंसा समेत गरेका छन् ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले २००८ सालमै नेपाल पत्रकार महासंघको स्थापना गरेर स्वर्गीय श्रेष्ठले नेपालको प्रजातान्त्रिक आन्दोलन र पत्रकारिता क्षेत्रको विकासमा पुुर्याएको योगदान उल्लेखनीय रहेको बताए । ‘२००८ सालमै पत्रकारहरुको हितका लागि संगठनको स्थापना गरेर स्वर्गीय श्रेष्ठले नेपालको सञ्चार, सूचना र प्रविधिको क्षेत्रमा संस्थागत विकास गर्न दुुरदृष्टि राखिसकेका थिए’, मन्त्री गुरुङले भने, ‘आज हामीले आधुनिक युग सुहाउँदो सञ्चार क्षेत्रको विकासमा लाग्नुपर्ने बेला भएको छ ।’
आधुनिक युग सुहाउँदो सञ्चार क्षेत्रको विकासमा लाग्न आम पत्रकारहरुलाई उनले आग्रह समेत गरेका छन् । मन्त्री गुरुङले स्वर्गीय श्रेष्ठ नेपालको पत्रकारिता क्षेत्रको ऐतिहासिक व्यक्तित्व भएको चर्चा गर्दै श्रेष्ठबाट प्रेरणा लिएर अघि बढ्नुपर्ने आवश्यकता समेत औंल्याए ।
कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूूका अध्यक्ष सूरबीर बज्राचार्यले २००८ सालमा नेपाल पत्रकार महासंघको स्थापना गगरिएको ऐतिहासिक तथ्य रहेको उल्लेख गर्दै स्वर्गीय श्रेष्ठलाई नै महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न मन्त्री गुरुङको ध्यानाकर्षण गराए भने मन्त्री गुरुङले नेपाल पत्रकार महासंघलगायतका सरोकारवाला निकायसँग छलफल गरेर आवश्यक निर्णय लिने जवाफ दिए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का अध्यक्ष दण्ड गुरुङ, मन्त्री गुरुङका सञ्चार विज्ञ राजेन्द्र मानन्धर लगायतको उपस्थिति थियो ।















प्रतिक्रिया