८ कार्तिक २०८३, आइतबार

संसद पुनःस्थापना गराउन चिनियाँ राजदूत सक्रिय, नेताहरूलाई भेटेरै दबाब दिँदै

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । राजनीतिक उथलपुथल भएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी दुई टुक्रा भएका बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले राजनीतिक भेटघाटलाई तीब्र बनाएकी छिन् ।

नेकपा मिलाउन कुटनीतिक मर्यादाविपरित राजनीतिक भेटघाट गरेको भन्दै राजदूत यान्छीको आलोचना भइरहेको छ । आलोचनाको बेवास्ता गर्दै राजदूत यान्छीले शुक्रबार थुप्रै नेताहरूलाई भेट गरेकी छिन् । स्रोतले राजदूत यान्छीले शुक्रबार दश नेतालाई भेटेको दाबी गरेको छ ।

यान्छीले नेकपाका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका नेता कृष्णबहादुर महरा, नेता वर्षमान पुन, सभामुख अग्निप्रसाद सापकोटा, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपाका नेता झलनाथ खनाल लगायतलाई भेट गरेको स्रोतले दाबी गरेको छ ।

स्रोतका अनुसार राजदूत यान्छीले जसपाका नेता राजेन्द्र महतोलाई पनि भेट गरेको दाबी छ । तर, नेता महतोले राजदूत यान्छीसँग आफ्नो भेट नभएको बताए ।

भेटमा राजदूत यान्छीले प्रधानमन्त्री केपी ओलीद्वारा विघटन गरिएको संसद पुनःस्थापना गर्नका लागि संयुक्त आन्दोलन गरेर जान सुझाव दिएको स्रोतको भनाइ छ । चिनियाँ राजदूतावासले राजदूत यान्छीको भेटघाटका विषयमा केही भनेको छैन । राजदूतावासले यान्छीको राजनीतिक भेटघाटलाई लुकाउन खोजेको छ ।

नेताहरूसँगको ती भेटमा राजदूत यान्छीले सकेसम्म दुबै कम्युनिस्ट पार्टी मिल्न दवाव दिएकी छिन् । उनले मिल्न नसक्ने हो भने सर्वोच्च अदालतबाट संसद पुनःस्थापना गरेर दुबै कम्युनिस्ट पार्टी मिलेर सरकार बनाएर अगाडि बढ्न सुझाव दिएको नेकपाका एक नेताले दाबी गरेका छन् । यान्छीले कम्युनिस्टहरूलाई साथ दिन गैरकम्युनिस्ट नेताहरूलाई पनि दवाव दिएको आरोप छ ।

नेपालको राजनीति उथलपुथल भएपछि चीनबाट एउटा चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं आउन लागेको चर्चा पनि छ ।

नेपालका लागि चिनियाँ राजदूत यान्छीले कुटनीतिक मर्यादा विपरित नेताहरूको घरघरमा पुगेर भेटघाट गर्नुलाई धेरै नेपालीहरूले रुचाएका छैनन् ।

राजदूत यान्छीको राजनीतिक गतिविधि बढेर गएपछि उनलाई फिर्ता पठाउन झिनो स्वरमा आवाज पनि उठ्न थालेको छ ।