काठमाडौं, १० पुस । सशस्त्र प्रहरी मुख्यालयले नायब महानिरीक्षक (डीआईजी) बढुवा प्रक्रिया थालेको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसीले डीआईजी बढुवाका लागि बिहीबार सूचना प्रकाशित गरेका छन् । सशस्त्रमा सात डीआईजी पद रिक्त छन् ।
सूचनामा सात दिनभित्र सशस्त्र प्रहरी उपरीक्षक (एसएसपी)हरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपि बुझाउन भनिएको छ । एआईजी केसी गृह मन्त्रालयले गठन गरेको बढुवा समितिको सदस्य सचिव हुन् ।
सशस्त्र प्रहरी नियमवाली २०७२ मा डीआईजी बढुवाका लागि गृह सचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ । जसमा गृहसचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य र सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सदस्य सचिव रहने उल्लेख छ ।
बढुवाका लागि दाबेदार एसएसपीहरू चर्काे लबिङमा लागेका छन् । बढुवा प्रयोजनको सूचना प्रकाशित भएपछि काठमाडौंबाहिर रहेका एसएसपीहरू पनि काठमाडौं आउन थालेका छन् ।
बढुवामा वरीयतामा अगाडि आउन सकेको खण्डमा आईजीपीको रोलक्रममा समेत परिने हुनाले अहिलेको बढुवालाई विशेष चासोका साथ हेरिएको छ । डीआईजी पदमा सात जनालाई बढुवा गरिए पनि आईजीपीको रोलक्रममा भने दुई जना मात्र देखिनेछन् । अन्य भने ३० बर्से सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानेछन् । ३० बर्से सेवा अवधि हटेको खण्डमा भने आईजीपीको रोलक्रममा तीन जना देखिनेछन् ।
स्रोतका अनुसार सात डीआईजी पद रिक्त भए पनि अहिले ६ ओटा पदमा मात्रै बढुवा गरिने सम्भावना बढी छ । त्यसो त यसअघि दुई डीआईजी पद रिक्त भए पनि एउटामा मात्रै बढुवा गरिएको थियो ।
६ जना बढुवा गर्दा १७ चैत २०७३ मा एसएसपी भएका पाँच जना र २३ असार २०७४ मा एसएसपी भएका एक जना पर्नेछन् ।
बढुवामा पहिलो नम्बरमा एसएसपी अभिकुमार खत्री छन् । यसअघिको डीआईजी बढुवामा पनि उनी प्रमुख दाबेदार थिए । १६ भदौ २०५१ मा प्रहरी सहायक निरीक्षकमा भर्ना भएका उनी ३ असार २०५६ मा प्रहरी निरीक्षक बनेका थिए । १७ चैत २०७३ मा एसएसपीमा बढुवा भएका उनलाई हालै वरिष्ठताका आधारमा नम्बर ६ बाहिनीको निमित्त बाहिनीपतिको जिम्मेवारीसमेत दिइसकिएको छ । एसएसपी भए पनि निमित्त बाहिनीपतिको जिम्मेवारी पाउने उनी एक जना मात्रै हुन् ।
डीआईजीका लागि वरिष्ठताका आधारमा खत्रीसँगै एसएसपी भएका शम्भु सुवेदी, गणेशबहादुर ठाडा मगर, दुर्गाप्रसाद भट्टराई र कमल गिरी छन् । यी पाँच जनाको रोलक्रमपछि कुलबहादुर नेम्वाङ छन् । उनी २३ असार २०७४ मा एसएसपी बनेका थिए । राेशन श्रेष्ठले राजधानी दैनिकमा समाचार लेखेका छन् ।















प्रतिक्रिया