१ कार्तिक २०८३, आइतबार

एकीकरणको साढे दुई वर्षमै नेकपा विभाजनमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ पुस । सरकारले संसद् विघटन गरेसँगै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी एकीकरण भएको साढे दुई वर्षमै विभाजित भएको छ । २०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा गठन भएको थियो । तर पार्टी एकताको कामले पूर्णता नपाउँदै संसद् विघटन प्रकरणले समानान्तर केन्द्रीय कमिटीको बैठक गर्दै दुवै समूहले औपचारिक विभाजनको सन्देश दिएका छन् । संसारमै तेस्रो ठूलो कम्युनिस्ट पार्टी बनेको नेकपा आन्तरिक विवादका कारण विभाजितको बाटोमा पुगेको हो ।

मंगलबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली समूह र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’–वरिष्ठ नेता माधवकुमार नेपाल समूहले छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक राखेर पार्टीमा आ–आफ्नै वैधता रहेको दाबी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली समूहको भेलाले प्रचण्ड–नेपाल समूहको बैठकले वैधानिकता नपाउने दाबी गरेको छ भने यता प्रचण्ड–नेपाल पक्षले बहुमत केन्द्रीय सदस्य आफूहरुको पक्षमा रहेको दाबी गर्दै बालुवाटारको भेलाको अर्थ नभएको बताएको छ ।

दुवै समूहले निर्वाचन आयोगमा पार्टीको आधिकारिकताका बारेमा पत्राचारसमेत गरिसकेका छन् । संसद् विघटन गरेपछि सोमबार नै प्रचण्ड–नेपाल पक्षले स्थायी समिति बैठकले गरेको निर्णयअनुसार अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गरेको पत्र निर्वाचन आयोगलाई बुझाएको थियो । मंगलबार बसेको ओली पक्षको केन्द्रीय समितिको बैठकले केन्द्रीय कमिटीको पुनर्गठन गरेको पत्र निर्वाचन आयोगमा बुझाएको छ । नेकपाभित्र कुन समूहले वैधानिकता पाउने भन्ने विवाद निर्वाचन आयोगमा पुगेको छ ।

नेकपाको ओली समूहले पार्टीको महाधिवेशन आगामी वर्ष मंसिर २ मा गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेका प्रधानमन्त्री ओलीले आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक बालुवाटारमा बोलाउनुभएको थियो । बैठकमा उहाँले प्रथम अध्यक्षका हैसियतले मौजुदा केन्द्रीय समितिमा ५ सय ५६ थपेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्तावलाई बैठकमार्फत अनुमोदन गराउनुभएको छ । त्यसै गरी बैठकले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाउँदै नयाँ प्रवक्तामा प्रदीप ज्ञवालीलाई तोकेको छ ।

बैठकले पुस ९ गते महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक बोलाउने निर्णय गरेको छ । योसँगै ओली पक्षको भेलाले नेकपाको कुल केन्द्रीय सदस्यको संख्या १ हजार १ सय ९९ बनाउने निर्णय गरेको छ । हाल नेकपामा ४ सय ४५ सदस्यीय केन्द्रीय कमिटी रहेको थियो । भेलाले तत्कालै ५ सय ५६ जना केन्द्रीय आयोजक समिति थपिएको र रिक्त रहेका १ सय ९६ जना पछि थप्ने बताएको छ । मनोनित सदस्यहरुलाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले शपथग्रहण गराउनुभएको छ ।

विस्तार गरिएको केन्द्रीय कमिटीमा कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठलगायत सबै केन्द्रीय सदस्यहरू यथावत् राखिएको छ । तर श्रेष्ठलाई प्रवक्ताबाट हटाएर प्रदीप ज्ञवालीलाई दिइएको छ । भेलामा पूर्वमाओवादी पक्षबाट टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा पनि सहभागी भएका थिए । मधुसूदन रायमाझीले नेपाल समाचार पत्र दैनिकमा खबर लेखेका छन् ।