३ कार्तिक २०८३, मंगलबार

गीत संगीतमा बेलाबेला देखिने बिकृति आफै हराएर जान्छन्ः गायक कँडेल

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राजेन्द्र कँडेलको स्वर मात्रै होइन, उनको शब्द र संगीत पनि उत्तिकै राम्रा छन् । कँडेलले स्वर दिएका अधिकांश गीतहरू दर्शक स्रोतले धेरै रुचाइदिएका छन् । गीतमा स्वर सुन्ने व्यक्तिले प्रत्यक्ष रुपमा कँडेललाई देख्यो भने एक पटक अचम्मा मान्न सक्छन् । गायक कँडेलको स्वर नरुचाउने सायद कमै हुन सक्छन् । गीत, संगीतलाई राम्रोसँग बुझेका कँडेललाई समकालीन गायक, गायिका, रचनाकारलगायत संगीतको क्षेत्रमा रहेका सबै मन पराउँछन् ।

ज्ञानेश्वर कँडेल र बसुन्धरा कँडेलको कोखबाट जन्मिएका गायक कँडेलले राष्ट्रियस्तरमा चर्चित छन् । उनको माग महोत्सवहरूमा हुने गरेको छ । कोरोना महामारीले गर्दा महोत्सवहरूमा जान नपाएका गायक कँडेललाई कहिले सहज होला र स्टेजमा मन फुकाएर गीत गाउँला भनेर सम्झना आइरहन्छ । उनले गायनमा राम्रो काम गरेको कदर स्वरुप पुरस्कार र सम्मानहरू पाएका छन् । उनको कोठाभरि पुरस्कार र सम्मानहरू सजिएर बसेका छन् ।

‘गीत गाउँदा आनन्द लाग्छ, गीतको लय, शब्द र संगीतले छोयो भने गाउन अर्कै मज्जा आउँछ’, कँडेलले भने, ‘मनभित्रैबाट गीत गाउँदा ती गीतहरूको भावमा डुब्दा समय कटेको पत्तै हुँदैन ।’ नवलपुर जिल्लाको कावासोतीका कँडेल ०६१ सालदेखि काठमाडौंमा गीत गाउन थालेका हुन् । उनको जन्म भने स्याङजा जिल्लाको चापाकोट नगरपालिकामा भएको हो । उनले ‘कुहिरोले डाँडा छेक्यो’, ‘कपाल कोर्ने काइँयो’, ‘एकोहोरो मायाँ जहिले नि’, ‘काँचो सुपारी’, ‘बाँच्ने मन्छ’, ‘अभागी परदेशी’लगायत करीव ७ सय गीतमा स्वर दिएका छन् । कतिपय गीतहरूमा कँडेलले शब्द र संगीत पनि दिएका छन् । कँडेलले पहिलो पटक स्वर दिएको गीत ‘कुहिरोले डाँडा छेक्यो’ हो । यसमा गायिका विष्णु माझीले गायनमा स्वर दिएकी छिन् ।
स्व.झलकमान गन्धर्व, नारायण रायमाझी, हरिदेवी कोइराला, प्रेमराजा महत, बीमाकुमार दुरा, लक्ष्मी न्यौपाने, रामप्रसाद खनाललगायतका गीत सुनेर गायनमा प्रवेश गर्न सहयोग मिलेको कँडेलले बताएका छन् । ‘गीत संगीतमा लागेपछि राम्रो भएको छ । आफ्नो पेशामा म सन्तुष्ट छु’, उनले भने, ‘गीत संगीतको क्षेत्र कडा प्रतिस्पर्धा छ । आफूले मेहनत गर्दै जाने हो । ठाउँ आफै बनाउने हो ।’

काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा संगीत विषय नै अध्ययन गरेका गायक कँडेलले ०६१ सालदेखि नै गायन पेशा अंगालेका हुन् । भन्छन्, ‘०६१ सालमा काठमाडौं आएँ । गायनमा पनि त्यही साल लागेको हुँ ।’ गायिका विष्णु माझीसँग पहिलो गीत गाउँदाको अनुभव उनलाई अहिले पनि ताजा छ । धेरै गीतहरू राम्रो बनेको उनले बताएका छन् ।
कोरोना महामारीले गीत संगीतको क्षेत्रलाई असर परेको उनले बताएका छन् । ‘कोरोनाले गर्दा करीव ९ महिनादेखि गीत संगीतको क्षेत्र नाराम्रोसँग प्रभावित बनेको छ’, उनले भने, ‘गायक/गायिका र कलासँग आश्रित ठूलो परिवार समस्यामा छ ।’ गीत संगीतको क्षेत्रमा गायक/गायिकाको हितमा केही गर्न सकिन्छ कि भनेर कँडेल लोक दोहोरी राष्ट्रिय प्रतिष्ठानको सदस्य बनेका छन् । प्रतिष्ठानमार्फत गायक/गायिकाको हकहितका लागि केही सुधारात्मक कामहरू भएको उनले बताए ।

लोक तथा दोहोरी गीतले राम्रो दर्शक स्रोता पाएको उनको बुझाइ छ । ‘हिन्दी र पप गीतले बजार लिएको अवस्थामा लोक तथा दोहोरी गीतले आफ्नो ठाउँ बनाएको छ’, गायक कँडेलले भने, ‘केही अपवादलाई छाड्ने हो भने लोक तथा दोहोरी गीतहरू धेरै राम्रा छन् । मौलिक पनि छन् ।’ गीत संगीतमा बेलाबेला देखिने बिकृतिले तरंग ल्याए पनि ती बिकृतिहरू आफै हराएर जाने गरेको उनले बताए । नयाँ कलाकारहरूलाई अवसर दिन धेरै व्यक्तिहरू हच्किने गरेको उनको बुझाइ छ । गायक कँडेलले भने, ‘नयाँलाई अवसर नदिने हो भने अर्को पुस्ता कसरी जन्मिन्छ ? नयाँलाई अवसर दिनुपर्छ । सहयोग गर्नुपर्छ ।’

गीत संगीतको क्षेत्रमा अहिले पनि आफूले सिक्दै गरेको बताउने गायक कँडेलले लोक तथा दोहोरी गीतका साथै बेलाबेला आधुनिक गीतहरूमा पनि स्वर दिने गरेका छन् । उनलाई आधुनिक गीतहरूमा भन्दा पनि लोक तथा दोहोरी गीतमा आफूलाई गाउन सजिलो हुने गरेको बताएका छन् । ‘म साधारण गाउँको मान्छे । काठमाडौंमा आएँ गीत संगीतको क्षेत्रमा लागे । शुरुका दिनमा काम गर्न धेरै समस्या थियो । धेरैले यसले पनि गीत गाउन सक्छ र ? भनेर विश्वास गर्दैन थिए’, गायक कँडेलले विगतलाई स्मरण गर्दै भने, ‘अहिले त्यस्तो समस्या छैन । गीत गाउने प्रस्ताव आउने गर्छ । धेरै थोरै भए पनि पारिश्रमिक पाइने गरेको छ ।’ आफूले गीत संगीतमा गरेको जस्तो संघर्ष अरुले गर्न नपरोस् भन्ने पक्षमा गायक कँडेल छन् ।
गायक कँडेलसँग सुरेश देवकोटा, रामजी खाँण, युवराज आचार्य, रमेशराज भट्टराई, खुमान अधिकारीलगायतका गायकहरू गीत संगीतको क्षेत्रमा प्रवेश गरेका थिए । उनीहरू सबै अहिले पनि लोक तथा दोहोरी गीतमा जमेर बसेका छन् ।