काठमाडौं, ३ पुस । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलान शुरु गरेको छ । जिल्लाभित्रै बढी भएको र थप भएको तथा एउटा स्थानीय तहबाट कटौती गरी अर्को स्थानीय तहमा थप गर्ने गरी बिहीबार १ सय ८४ दरबन्दी मिलान गरेको हो । तीमध्ये एक जिल्लाबाट अर्को जिल्ला सरुवा हुने शिक्षकको संख्या ४४ रहेको छ ।
केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले स्थानीय र जिल्ला तहका शिक्षक मिलान शुरू गरिएको जानकारी दिनुभयो । केन्द्रले पहिलो चरणमा हाल रिक्त रहेका दरबन्दीलाई मिलान गरिएकाले शिक्षक सरुवा हुनुपर्ने अवस्था छैन ।
गत वर्ष भदौ ४ गतेको निर्णयअनुसार जिल्लागत रूपमा उपलब्ध गराइएको प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहका शिक्षक दरबन्दी तथा राहत अनुदान कोटालाई शिक्षा ऐन (संशोधन सहित) २०२८ को दफा ११ (५) बमोजिम स्थानीय तहगत रूपमा एकपटकका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट दरबन्दी मिलान गर्ने निर्णय भएपछि केन्द्रले शिक्षक व्यवस्थापन गरेको हो ।
शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि–२०७६ को आधारमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दरबन्दी मिलानको प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
सो आधार र मापदण्डको आधारमा स्थानीय तहहरुमा आ–आफ्नो स्थानीय तहमा दरबन्दी मिलान जारी राखेका छन् । तर, केही स्थानीय तहमा स्वीकृत मापदण्डको आधारमा बढी हुन आउने दरबन्दीहरू थप हुन जाने स्थानीय तहहरुमा पठाउने गरी सम्बन्धित शिक्षा, विकास तथा समन्वय इकाइको सिफारिसको आधारमा बिहीबार मिलान गरिएको हो ।
लगत्तै केन्द्रले पहिलो चरणमा जिल्लागत र पालिकागत रूपमा प्राथमिक तहको दरबन्दी मिलान गरेको हो । शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधिका आधारमा स्थानीय तहमा स्वीकृत मापदण्डको आधारमा बढी हुन आउने दरबन्दीहरू थप हुन जाने स्थानीय तहमा पठाउने गरी मिलान गरिएको केन्द्रले जनाएको छ ।
सरुवा हुनेमा ५ जिल्लामा कटौती गरी ३ जिल्लामा थप भएको छ । प्राथमिक तहको जिल्लागत रूपमा काठमाडौंमा बढी भएको २, मुस्ताङमा बढी भएको ६, मनाङमा बढी भएको १, तनहुँमा १७ र पर्वतमा बढी भएको १७ दरबन्दी कटौती भएको छ ।
ती जिल्लामा बढी भएको दरबन्दीमध्ये काठमाडौंको २ दरबन्दी धादिङमा र बढी भएको बाँकी ४१ दरबन्दीमध्ये नवलपरासी सुस्ता पूर्वमा २१ र बाग्लुङमा २० दरबन्दी थप भएको छ ।
यसै गरी, जिल्लाभित्रकै एउटा स्थानीय तहबाट कटौती गरी अर्को स्थानीय तहमा १ सय ४१ दरबन्दी मिलान गरिएको छ । सबैभन्दा बढी तनहुँका २७ शिक्षक छन् । गोरखामा २४, म्याग्दीमा १०, अर्घाखाँची ११, गुल्मी २५, इलाम १२, चितवन २३, रसुवा ३ र पर्वत ६ दरबन्दी एउटा स्थानीय तहबाट कटौती गरी अर्को स्थानीय तहमा मिलान गरिएको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया