३ कार्तिक २०८३, मंगलबार

बहिनीको निधन हुँदा पनि प्रस्तुति दिन गएका थिए जोनी लिभर

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउडका हास्य कलाकार जोनी लिभर तीन सयभन्दा धेरै फिल्ममा अभिनय गरेका छन् । पहिला जत्तिकै फिल्ममा नदेखिए पनि जोनी उनको अभिनय यात्रा जारी नै छ । सन् १९८० को दशकदेखि मनोरञ्जन क्षेत्रमा प्रवेश गरेका जोनीको करिअर ‘स्ट्यान्ड अप कमेडी’ बाट सुरू भएको थियो ।

स–साना कार्यक्रमपछि टेलिभिजन हुँदै बलिउड प्रवेश गरेका उनी सानैदेखि प्रतिभाका खानी नै थिए । मान्छेलाई हुरूक्कै हुने गरी हसाउन सक्नु उनको खुबी थियो । सन् १९८२ तिरको कुरा हो । अभिनेता तथा निर्देशक सुनील दत्तले जोनीलाई एउटा स्टेज कार्यक्रमका क्रममा देखे र उनीबाट प्रभावित भएका थिए । सुनीलले जोनीलाई फिल्म ‘दर्दका रिश्ता’मा काम गर्ने प्रस्ताव राखेका हुन् ।

सुनील दत्तले निर्देशन गरेको फिल्म जोनीको ठूलो पर्दातर्फ पहिलो पाइला थियो । त्यसपछि उनी जलवा, हिरो हिरालालजस्ता फिल्ममा काम गरे पनि उनले ठूलो सफलताका लागि सन् १९९३ सम्म कुर्नु परेको थियो । सन् १९९३ मा उनले अभिनेता शाहरूख खानसँग ‘बाजीगर’मा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अवसर पाए । ‘बाजीगर’ त्यो वर्षकै सर्वाधिक सफल फिल्म थियो ।

बाजीगरमा उनले बोल्ने ‘मुझे तो कभी कभी इसपे भी शक होने लगता है’ भन्ने डायलग आजसम्म चर्चित छ । बाबुलाल चरित्रबाट उनी फिल्म फेयर अवार्डमा उत्कृष्ट हास्य कलाकारको प्रतिस्पर्धाको अन्तिम पाँचमा मनोनीत भएका थिए । धेरै राम्रा ब्यानरका फिल्म पाएका उनका लागि फेरि शाहरूख खानसँगको सहकार्य उपलब्धिपूर्ण बन्यो । सन् १९९५ मा शाहरूख र सलमान खान अभिनित ‘करण अर्जुन’ फिल्ममा जोनीको काम निकै रुचाइयो । उनी फेरि फिल्म फेयरमा उत्कृष्ट हास्य कलाकारमा मनोनीत भए ।

‘राजा हिन्दुस्तानी’, ‘जुदाइ’, ‘दिवाना मस्ताना’, ‘लभ के लिए कुछ भी करेगा’लगायतका थुप्रै फिल्ममा जोनीले काम गरेका छन् । ती फिल्महरूबाट उनले पुरस्कारहरू पनि पाएका छन् । जोनी लिभरका नामले ख्याती कमाएका उनको खास नाम जोन राव प्रकाश राव जानुमाला हो । हिन्दुस्तान लिभरको कार्यक्रमहरूमा जोनी लिभर नामबाट प्रस्तुति दिँदादिँदै उनले फिल्मका लागि पनि यही नाम रोजे ।

धेरैलाई पर्दामा हसाइराख्ने जोनी वास्तविक जीवनमा पनि त्यस्तै होलान् भन्ने लाग्न सक्छ । हालै बलिउड हंगामासँग कुराकानी क्रममा जोनीले आफ्नी बहिनीको मृत्यु भएको दिनसमेत काम गर्नु परेको बताएका छन् । ‘मेरी बहिनीको मृत्यु भएको दिन एउटा कलेजमा कार्यक्रम थियो । कार्यक्रम बेलुका ८ बजेको छ भन्ने सोँचेको थिएँ’, जोनीले भनेका छन्, ‘मलाई लिन एकजना साथी आयो । अनि बल्ल थाहा पाएँ कार्यक्रम त साँझ ४ बजे रहेछ । साथीले कार्यक्रम रद्द गर्ने कि भनेर सोधेको थियो, तर मैले मानिनँ । बहिनीको निधनमा घरमा रुवाबासी चलेको थियो । म खुसुक्क ट्याक्सीमा चढेँ । अनि त्यही लुगा फेरेँ । मसँग त्यो बेला कार थिएन । त्यसैले ट्याक्सी लिएँ ।’ एजेन्सी