२८ आश्विन २०८३, बुधबार

नेपाल राम्ररी चिन्छन् मोदी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narendra Modi & Sarcकाठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नवगठित मन्त्रिमण्डलका प्रमुख मन्त्री नेपालप्रति सद्‍भाव राख्छन्। नेपालसम्बन्धी जानकार उनीहरुको भूमिकाले आगामी दिनमा दुई देशबीच सम्बन्ध थप सुमधुर हुने विश्वास गरिएको छ।

नेपालका नेतासँग व्यक्तिगत सम्बन्ध नरहे पनि उनीहरु नेपालबारे राम्रो ज्ञान राख्छन्।

मोदीको मन्त्रिमण्डलमा सहभागी भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह नेपाल बुझ्नेमध्ये एक हुन्। पटक–पटक नेपाल आएका उनले स्पष्ट रुपमा नेपाल हिन्दु राष्ट्र हुनुपर्ने वकालत गर्दै आएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार मोदीले उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिएका छन्।

‘हिन्दु राष्ट्रबारे राजनाथजीले दिनुभएको अभिव्यक्ति पार्टीको धारणा थियो। अब उहाँ सरकारको मन्त्री हुनुभएको छ। सरकारको धारणा बेग्लै आउन सक्छ,’ भारतका लागि पूर्व नेपाली राजदूत भेषबहादुर थापाले भने।

नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशबाट राजनीतिक जीवन सुरु गरेका कारण पनि राजनाथले नेपाललाई अझ नजिकबाट बुझेका छन्। उनी उत्तर प्रदेशको मुख्य मन्त्रीसमेत रहिसकेका छन्।

सोमबार नै मन्त्रीको शपथ लिएकी सुषमा स्वराज पनि नेपाल जानकारमध्ये पर्छिन्। उनलाई विदेश मन्त्रालयको जिम्मेवारी दिइएको सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

नेपालको समाजवादी पार्टी तथा नेपाली कांग्रेसका नेता बिपी कोइराला, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईसँग उनको राम्रो सम्बन्ध थियो। पछिल्लो समय नेपाली कांग्रेसका नेता चक्र बास्तोलासँग उनको राम्रो सम्बन्ध थियो। स्वराजका श्रीमानको पनि नेपालका सामाजिक अभियन्तासँग राम्रो सम्बन्ध रहँदै आएको छ।

‘सुषमाजीमा नेपालप्रति सद्भाव र आत्मीयताको भावना छ,’ थापाले भने। नागरिक दैनिकबाट