चितवन, ११ चैत । चितवनमा यो वर्ष १२ महिला तथा बालिका बलात्कारको सिकार भएका छन् ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बलात्कार र जवर्जस्ती करणी उद्योगका २३ घटनामध्ये १२ मुद्दा जबर्जस्ती करणीको रहेको छ । बाँकी ११ मुद्दा भने जबर्जस्ती करणी उद्योगका रहेको चितवनका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजन अधिकारीले बताउनुभयो ।
गएको वर्ष चितवनमा ३३ करणीका मुद्दा थिए भने जबर्जस्ती करणी उद्योगअन्तर्गत सात मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । २०६६ सालदेखि २०७१ सालसम्मको तथ्याङ्कमा बलात्कारका घटनामा क्रमशः वृद्धि भइरहेको प्रहरीको तथ्याङ्कमा छ । २०६६÷६७ मा १४ करणीका घटना रहेकामा २०६७÷६८ मा १४ घटना बलात्कार र एक बलात्कार उद्योगका रहेका छन् ।
यस्तै २०६८÷६९ मा करणीका २४ र करणी उद्योगका पाँच घटना दर्ता भएका थिए । उक्त मुद्दा २०७०÷७१ मा आइपुग्दा करणीका ३३ र जबर्जस्ती करणी उद्योगका सात मुद्दा दर्ता भएको अधिकारीले बताउनुभयो ।
अहिलेसम्मको तथ्याङ्कले प्रलोभनमा पारी बढी करणी हुने गरिएको र दोस्रो स्थानमा डरधम्कीबाट करणीका घटना हुने गरेको प्रहरीले आज तथ्याङ्क सार्वजनिक गरेको छ । चितवनमा गएको सात महिनामा भएका १२ करणीका मुद्दामध्ये १० घटना भने प्रलोभन र डरत्रास देखाएर भएको जनाइएको छ ।
करणीका घटना धेरैजसो कोठाभित्रै हुने गरेका छन् । यो वर्ष सबैभन्दा बढी फागुनमा मात्रै चार महिला करणीमा परेका छन् । साउन, असोज र मङ्सिरमा दुई–दुई घटना भएका छन् भने भदौ र माघमा एक–एक करणीका घटना भएको तथ्याङ्कमा उल्लेख छ ।
तथ्याङ्कले १० देखि १६ वर्षका बालिका बढी करणीमा परेको प्रहरीले जनाएको छ । यस्ता घटनामा पहिले त उजुरी नै नपर्ने र परे पनि प्रमाण नष्ट भइसकेपछि मात्रै प्रहरीमा आइपुग्ने भएकाले मुद्दा बलियो बनाउन चुनौती रहेको प्रहरी प्रवक्ता अधिकारीले बताउनुभयो । रासस















प्रतिक्रिया