
काठमाडौँ, २० मंसिर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको चौधौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा शनिबार बैंकको केन्द्रिय कार्यालय भवनमा सम्पन्न भएको छ ।
कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बनगरी डिजिटल प्लाटफर्म जुममार्फत चौधौँ वार्षिक साधारण सभा संचालन गरेको हो ।
यस अवसरमा आ.व. २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ आषाढ मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आ.व. २०७६/७७ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ ।
त्यसै गरी साधारण सभाले गत आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट ८ प्रतिशतका दरले हुन आउने ७२ करोड ७१ लाख ८५ हजार ३८३.१८ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने र ३ प्रतिशतका दरले हुन आउने २७ करोड २६ लाख ९४ हजार ५१८.६९ रुपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।
सभाका अध्यक्षले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझबढी प्रगति हाँसिल गर्ने सक्ने विश्वास सभालाई गराए ।
साथै शेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण महानुभावहरुले पुर्याउनु भएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै यस्तै सहयोग तथा सदाशयता निरन्तर प्राप्त हुने आशा प्रकट गरे ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७६/७७ सम्ममा रु. ९२ अर्ब ५९ करोड निक्षेप संकलन गरेको छ भने रु. ८१ अर्ब २८ करोड ऋण प्रवाह गरेको छ ।
यस बैंकले सोहि अवधि भित्र रु १ अर्ब ११ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त संस्था श्री तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरि अन्य प्रक्रियागत कार्यहरु अगाडि बढिरहेको समेत जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
कोरोनाभाइरसको महामारीबाट सम्पूर्ण विश्वनै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ ।
यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड विथड्र सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट बाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनी गरेको छ ।
साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहक महानुभावहरुलाई सकेसम्म बैंकमा नआइकनै बैकिङ्ग सुबिधा प्राप्त गर्न सहज होस् भनी यस बैंकमा बचत खाता संचालन गर्दै आउनुभएका ग्राहक महानुभावहरुलाई बैंकको मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, शेयर कारोबारको सहजीकरणका लागि डि—म्याट तथा आस्बा सेवा,कार्ड लगायतका विद्मुतिय भुक्तानीका माध्यमहरुमा पहिलो बर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाइएको छ ।
यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने, डिजिटल बैंकिङ्ग सभ्यताको विकास भई कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।















प्रतिक्रिया