२८ आश्विन २०८३, बुधबार

भरतविमलले फोरम छाडे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bharat Bimal Yadavकाठमाडौं । एक्लिएका बेला पार्टीको उचाइ बढाउन प्रयोग गरिएका मधेसका पुराना नेता भरतविमल यादव फोरम नेपालबाट बाहिरिएका छन् ।

अध्यक्ष उपेन्द्र यादवले २०७० वैशाखमा भरतविमललाई पार्टी प्रवेश गराएर वरिष्ठ नेताको जिम्मेवारी दिएका थिए । त्यसको वर्ष दिन बित्न नपाउँदै जेठ पहिलो साता पुनर्गठित केन्द्रीय समितिमा स्थान नदिएपछि उनी असन्तुष्ट भएका थिए ।

भरतविमलले केन्द्रीय समितिमा नसमेटिएकैले पार्टी परित्याग गरेको बताए । ‘उपेन्द्र विश्वास गर्नै नसकिने व्यक्ति रहेछन्,’ उनले सोमबार भने, ‘अब नयाँ तरिकाले अघि बढ्छु ।’

पुनर्गठित ६३ सदस्यीय कार्यसमितिमा भरतविमलसहित राजनीतिक समिति सदस्यसमेत रहेका अर्जुन थापा, अमरेशनारायण झा, विनिता यादव, असरार अहमद खान, विष्णु चौधरी, भीम राजंशीलगायत छुटाइए । अध्यक्ष यादवले चाहिँ भरतविमललगायत नेतालाई पछि समेट्दै लैजाने दाबी गरे । ‘उहाँ (भरतविमल) सभासद नबनाएकामा असन्तुष्ट हुनुहुन्छ, पार्टी प्रवेशलगत्तै वरिष्ठ नेताको जिम्मेवारी दिएकै हुँ,’ उनले भने, ‘सिटै थोरै भएपछि कसरी समेट्ने ?’

नयाँ समितिमा अधिकांश यादव निकट, भनेको मान्ने र पुरानै अनुहार छन् । उनले पहिलाकै मोहम्मद लालबाबुलाई उपाध्यक्ष, रामसहाय यादवलाई महासचिव, रत्नेश्वरलाल कायस्थलाई सचिवरप्रवक्ता र रेणु यादवलाई कोषाध्यक्ष बनाएका छन् ।

समिति समावेशीसमेत छैन । ३२ जना त यादव थरका मात्रै छन् । संविधानसभा चुनावलगत्तै अध्यक्ष यादवले ५१ सदस्यीय केन्द्रीय समिति विघटन गर्दै पुनर्गठन गर्ने अधिकार आफैंले लिएका थिए ।

एकलौटी ढंगले ‘एसम्यान’लाई मात्रै समेटेर केन्द्रीय समिति विस्तार गरेकामा आपत्ति जनाउँदै समितिमै परेका चुनाव जितेका सभासद अभिषेकप्रताप साह, मोहम्मद इस्तियाक राई, रामचन्द्र राय यादवलगायतले समेत बैठक बहिष्कार गर्दै आएका छन् ।

चुनावअघि धेरै व्यक्तिले पार्टी छाडेर एक्लिँदै गएपछि अध्यक्ष यादवले पुराना नेताहरू भरतविमल, रामचन्द्र राय यादव, बबन सिंहलगायतलाई प्रवेश गराएर आकार बढाउने प्रयास गरेका थिए ।

यादवले वरिष्ठ नेता भरतविमललाई समानुपातिक सभासद बनाउने बाचा दिए पनि त्यो पूरा गरेनन्  । यादवले समानुपातिकतर्फबाट पुराना नेता, पार्टीमा योगदान गरेका र अनुभवीलाई भन्दा ‘पैसावाल’हरूलाई सभासद बनाएका थिए । उनले पार्टीमा कत्ति पनि योगदान नदिएका, चुनावताका मात्रै पार्टी प्रवेश गरेकाहरू वीरेन्द्र महतो, छाया शर्मा पन्तलगायतलाई समानुपातिक सभासद बनाएका थिए । कान्तिपुर दैनिकबाट