काठमाडौं, ४ मंसिर । सरकारले राम्रोसँग काम गर्न नसकेको भनेर आलोचनाहरू भइरहेका छन । झण्डै दुईतिहाइको बहुमत हुँदा पनि नेकपाको सरकारले काम गर्न नसकेको नेपाली कांग्रेसले आरोप लगाउँदै आएको छ ।
यस्तो अवस्थामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका लागि आन्दोलनको उर्वर मौका रहेको चर्चा हुन थालेको छ । सरकारविरुद्ध मोर्चा खोल्न कांग्रेस सकिरहेको छैन । कांग्रेस सरकारलाई दवाव दिने आन्दोलन गर्नबाट डराइरहेको आरोप छ ।
कांग्रेसका कारण प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई सजिलो भएको आरोप कांग्रेसभित्र लाग्न थालेको छ । कांग्रेसले प्रभावकारी रुपमा जिम्मेवारी बहन गर्न नसक्दा सरकारलाई झन् सजिलो भइरहेको छ ।
कांग्रेसले तिहारपछि आन्दोलन गर्ने निर्णय गरिसकेको छ । आन्दोलनको तयारी भने कांग्रेसले गर्न सकेको छैन । १४औँ महाधिवेशनका कारण आन्तरिक विवादमा रहेको कांग्रेसले आन्दोलनको गृहकार्यका लागि कार्यदल बनाएर काम गर्नुपर्ने थियो ।
अहिलेसम्म कांग्रेस कसरी सडक र सदनमा जाने भन्ने विषयमा मौन छ । कस्ता खालका आन्दोलन गर्ने भन्नेमै नेताहरूका बीच मतभेद छ ।
संसदको अधिवेशन बोलाउन कांग्रेसले पहिलो प्राथमिकता दिएर दवाव सिर्जना गर्नेछ । संसदमा सरकारलाई घेराबन्दी गरेर असहयोग गर्ने पक्षमा कांग्रेस छ ।
प्रधानमन्त्री ओलीलाई संसद बोलाउन दवाव सिर्जना गर्नुपर्छ । आफ्नै पार्टीभित्रबाट असजिलो अवस्थामा रहेका ओलीलाई कांग्रेसले संसदको अधिवेशन बोलाउन दवाव दिने विषयमा ढिलाइ गर्न नहुने केन्द्रीय सदस्य एवम् सांसद अभिशेषप्रताप शाहले बताएका छन् ।
केन्द्रीय सदस्य गगनकुमार थापाले पुष्पकमल दाहालद्वारा सचिवालयमा प्रस्तुत गरिएको आरोपहरूको जवाफ प्रधानमन्त्री ओलीसँग संसदमा माग गरिने चेतावनी दिएका छन् । उनले दाहालको प्रतिवेदन नेकपाको मात्र नभइ आमचासोको विषय भएको बताएका छन् ।
कांग्रेसले संसदको अधिवेशन बोलाउनका लागि दवाव दिन ढिलाइ गर्नुको कारण कतै प्रधानमन्त्री ओली र सभापति शेरबहादुर देउवाबीच गोप्य समझदारी त छैन ? भन्ने प्रश्न उठ्न थालेका छन् ।
कोरोना महामारीका बेला काम गर्न नसकेको सरकारविरुद्ध कांग्रेसले आन्दोलनको मोर्चा खोल्न ढिला गर्न नहुने नेताहरूको भनाइ छ ।
नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाश शरण महतले छठपछि पार्टी आन्दोलनमा जाने बताएका छन् । उनले सरकारले जनताको जीवनसँग खेलवाड गरेको भन्दै कोरोनाको बहानामा भएका भ्रष्टाचार, अराजकता, विभिन्न काण्डहरूका विषयमा आवज उठाउने बताएका छन् ।
ओलीलाई आफ्नै पार्टीका नेताहरूले असहयोग गरिरहेका छन् । दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिखित रुपमै प्रधानमन्त्री ओली र सरकार असफल भएको भनेर सचिवालयको बैठकमा राजनीतिक प्रतिवेदन पेश गरिसकेका छन् ।
सभापति देउवाले आफ्नो बिग्रिदै गएको छविलाई सुधार गर्न आवश्यक छ । अन्य लोभलालसामा नपरेर सभापति देउवाले सरकारविरुद्ध आन्दोलन घोषणा गरेर कार्यकर्ताहरूको मनोबल उठाउनुपर्ने नेताहरूकाे भनाइ छ । कांग्रेसका कार्यकर्ताहरूले पनि सरकारविरुद्ध आन्दोलनको माग गरिहेका छन् ।















प्रतिक्रिया