इलाम, १० चैत । नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद विमल प्रधानले सुसाइड नोट लेख्दै आत्महत्या गरेका छन् ।
चियामा प्रयोग हुने किटनाशक विषादी प्रयोग गरेर उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रधान पूर्ण स्मारक उच्च मावि गोदकका प्राचार्य समेत थिए । सूर्योदय नगरपालिका आइतबारेको विरेन्द्र माविमा एसएलसीको केन्द्राध्यक्ष रहेका प्रधानले परीक्षा सकेर आफ्नो मुलघर समाल्बुङ जाने क्रममा बाटोमा विषादी सेवन गरेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक पदम थपलियाले जानकारी दिए ।
प्रधान परीक्षा सकेर सहयोगी छत्र गुरुङ्गका साथमा पशुपतिनगर पुगेका थिए । बाटोमा फिक्कलको एक एग्रोभेटबाट चियामा हाल्ने विषादी खरिद गरेर गोजीमा हालेको र पशुपतिनगरको फाटकमा पुगेर गुरुङ्गलाई मोटरसाईकल र ब्लुबुक फिर्ता गरेको प्रहरीले जनाएको छ । ब्लुबुक भित्र तीन पेजको सुसाइड नोट लेखेर राखेको शिक्षक विनोद अधिकारीले भेटेपछि प्रहरीलाई जानकारी गराएका थिए । उनी केही दिनदेखि तनावमा रहेको उनका सहकर्मीहरुले बताएका छन्। शुक्रबार उनले आफ्नो फेसबुकमा लेखेका छन् – ‘गर्ने सबैलाई विचार हुँदैन, तर गर्न खोज्नेलाई साथ हुँदैन, राम्रै गर्ने तिमीलाई सबैले खेद्छन्, स्वार्थमा कुद्दा विरोध हुँदैन, मर्न कसैलाई रहर हुँदैन् ।’
प्रधानका दुई छोरा र श्रीमती छन् । देशान्तर साप्ताहिकबाट पत्रकारीता थालेका उनले अन्नपूर्ण पोस्टमा समेत इलाम सम्वाददाताको रुपमा काम गरेका थिए । अहिले रेडियो नेपालवाणी एफएममा समय सन्दर्भ कार्यक्रम सञ्चालन पनि गर्दै आएका थिए ।
















प्रतिक्रिया