३० आश्विन २०८३, शुक्रबार

अमेरिकामा नेपालीहरूले यसरी लगाए भाइटीका

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

विजय थापा

डिसी । कोरोना महामारीको प्रभावमा परेको अमेरिकामा बसोबास गर्ने नेपालीहरूले यमपञ्चकको पाँचौंँ दिन भाईटीका लगाएर तिहार मनाएका छन् ।

अमेरिकाका ५० वटै राज्यहरूमा कोरोना संक्रमण अझ द्रुतगतिमा व्यापक हुँदै गएको अवस्थालाई मध्यनजर गर्दै अधिकांश राज्यमा नेपालीहरूले बिगत वर्षहरूमा झैँ मनाउन र रमाइलो गर्न अवसर पाएनन । सीमित परिवार, सुरक्षित हुँदै स्वास्थ्यलाई ध्यान दिँदै अमेरिकाका विभिन्न राज्यहरूमा दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरेका छन ।

भाइटीकाको टीका दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि मध्याह्न ११ः३७ बजेको समय उत्तम भनिएकोले अमेरिकामा बसोबास गर्ने नेपाली अधिकांशले ११ः३७ मिनेटमा अमेरिकाका विभिन्न शहर तथा राज्यहरूमा टीका ग्रहण गरेका छन ।

अमेरिकामा सोमबार भाइटीका परेकोले समय मिलाउन सक्ने नेपालीले बिदा लिई र बिदा नमिल्नेलहरूले कामबाट फर्केपछि भाईटीका मनाएका छन् ।

अमेरिकामा विभिन्न राज्य तथा शहरहरूको समय कतै एक घण्टा, कतै दुई घण्टा र कतै तीन घण्टाको समेत फरक भएकोले स्थानीय समय अनुसार नेपाली समुदायले अनुकूल समयमा भाईटीका लगाएका छन ।

नेपालमा जस्तै गरि काग तिहारदेखि नै भाईटीकासम्म ५ दिन झिलीमिलि बनाएका छन् । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई दिएका छन् ।

नेपालबाट सानोमा अमेरिका आएका तथा अमेरिकामा जन्मेका दोस्रो पुस्तालाई पनि पहिलो पुस्ताले यस्ता पर्वमा उनीहरूलाई संलग्न गराउँदै नेपालीहरूका चाडपर्वको महत्व बारेमा जानकारी दिने र उनीहरूलाई अझ संलग्न गराउँदै तिहार मनाउन अभिभावकहरूले ठूलो भूमिका निर्वाह गरेका छन् ।

अमेरिकामा खोलिएका नेपाली पाठशालाका विद्यार्थी र आफ्ना सन्तानलाई देउसी र भैलो समेत अमेरिकाका विभिन्न राज्य, शहर, टोल र गल्लीहरूमा खेल्न प्रोत्साहन गरेका छन् ।